
फिदिम।
पाँचथरको फिदिम नगरपालिका–३ वडा कार्यालयले स्थानीयवासीलाई आपतकालीन स्वास्थ्य सेवामा सहयोग पुग्ने उद्देश्यले स्टेचर वितरण गरेको छ।
मंगलबार वडा कार्यालयले वडाभित्रका पाँच टोलमा पाँच वटा स्टेचर वितरण गरेको हो। बर्खायाम सुरु भएसँगै सम्भावित जोखिमको पूर्वतयारीस्वरूप स्टेचर वितरण गरिएको वडाध्यक्ष नरेन्द्र गुरुङले जानकारी दिए।

उनका अनुसार ग्रामीण क्षेत्रमा सुत्केरी पीडा, आकस्मिक बिरामी वा दुर्घटना भएपछिको अवस्थामा सवारी साधनको पहुँच नहुँदा बिरामीलाई तत्काल अस्पतालसम्म पुर्याउन समस्या हुने भएकाले वडाको बजेटबाट स्टेचर खरिद गरी वितरण गरिएको हो।
“गत वर्षको बर्खामा अविरल वर्षाले ठूलो क्षति पुर्याएको थियो,” अध्यक्ष गुरुङले भने, “त्यसैले यसपटक वडाले पूर्वतयारी स्वरूप स्टेचरको व्यवस्था गरेको हो।”
वडाको भूगोल हुँदै मेचीराजमार्ग गुज्रने भएकाले सडक दुर्घटनाको जोखिम समेत रहँदै आएको छ। यस्ता घटनामा प्राथमिक उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा बिरामी लैजान स्टेचर उपयोगी हुने वडा कार्यालयको विश्वास छ।
स्टेचर पाएपछि स्थानीयवासी खुसी व्यक्त गरेका छन्। उनीहरूले वडाले स्वास्थ्य सुरक्षाका लागि चालेको कदम सराहनीय रहेको प्रतिक्रिया दिएका छन्।