
फिदिम| कुम्मायक गाउँपालिका– १ को पृथ्वी माध्यमिक विद्यालयले हीरक महोत्सव मनाउने भएको छ । विद्यालयको ६० औं स्थापना दिवसको अवसरमा बैशाख ९ गतेदेखि १२ गतेसम्म हीरक महोत्सव मनाउन लागेको हो ।
शुक्रवार यासोकमा पत्रकार सम्मेलन गर्दै विद्यालयले बैशाख ९ गतेदेखि १२ गतेसम्म चार दिन महोत्सव संचालन गर्ने भएको छ । महोत्सवको बैशाख ९ गते समुत्घाटन खेलकुद, १० गते वृहत साँस्कृतिक कार्यक्रम, ११ गते स्मारिका विमोचन, सम्मान तथा बिविध झाँकी सहित ¥याली गर्ने जनाएको छ । त्यस्तै बैशाख १२ गते पुरस्कार वितरण तथा समापन कार्यक्रम संचालन हुने विद्यालयका प्रधानाध्यापक ऋषिराम गजुरेलले बताए ।
हीरक महोत्सवमा हालसम्म १३८ जना दाताबाट सहयोग रकम संकलन भएको छ भने् ५२ वटा अक्षयकोष स्थापना भएको विद्यालयले जनाएको छ । हालसम्म अक्षयकोष र सहयोग रकम सहित ७७ लाख ७४ हजार ७ सय ९० रुपैयाँ संकलन भएकोे छ । यस अघि पनि विद्यालयमा ३ वटा अक्षयकोषबाट ७ लाख ७२ हजार जम्मा भएको थियो । विद्यालयमा नयाँ र पुरानो अक्षयकोष गरी ८५ लाख ४६ हजार ७९० रुपैयाँ रकम जम्मा भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा कुम्मायक– १ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताए । विद्यालयको कोषमा रकम थपिने क्रम बढेकाले कार्यक्रम अवधिसम्म एक करोड रकम जम्मा हुने लक्ष्य लिएको लावतीको भनाइ छ ।

कार्यक्रम समापनमा कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङको उपस्थितिमा हुने आयोजक विद्यालयले जनाएको छ । कुम्मायक गाउँपालिकाले महोत्सवको अक्षयकोषमा १० लाख रकम जम्मा गरेको छ । गाउँपालिका बाहेक सबै भन्दा बढि दाताको तर्फबाट पुर्वमन्त्री डम्बरसिं सम्बाहाम्फेको परिवारले ६ लाख ३० हजारको अक्षयकोष स्थापना गरेका थिए । दोस्रो ठुलो अक्षयकोष स्व.पुर्वमन्त्री पद्मसुन्दर लावतीको परिवारले ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको अध्यक्ष लावतीको भनाइ छ ।
चार दिनसम्म संचालन हुने महोत्सवको तयारीको लागि ७ बिभिन्न उपसमिति गठन गरी तयारी तिब्र पारिएको छ । विद्यालयले सास्कृतिक कार्यक्रम संचालन उपसमिति, खेलकुद अतिरिक्त क्रियाकलव संचालन, मञ्च व्यवस्थापन, अथिति सत्कार र कार्यक्रम संचालन उपसमिति लगायत रहेका छन । स्मारिका प्रकाशित गर्ने प्रयोजनको लागि विद्यालय स्थापना कालदेखि हालसम्मका १३ जना प्रधानाध्यापकहरुको सुची समेत सार्वजनिक गरेको छ । त्यस्तै उच्च मावि रहेको समयका कक्षा ११ र १२ को प्राचार्यहरु जनक बहादुर चेम्जोङ र मोहन प्रसाद भट्टराई रहेको बताइएको छ ।