पाँचथर । ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड काठमाडौँलाई रोक्दै मधेश प्रदेशको नमो बुद्ध एफसी सप्तरी पाँचथरको फिदिममा जारी पाँचौं संस्करणको वाइवाइ अन्तर्राष्ट्रिय आमन्त्रण पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

Nepalitheme

फिदिम माविको खेलमैदानमा बिहीबार सम्पन्न प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा चर्च ब्वाइजलाई टाइब्रेकरमा ४–२ गोलले स्तब्ध पार्दै नमो बुद्ध एफसीले उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब काठमाडौँसँगको भिडन्त पक्का गरेको हो। खेलको निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो।

खेलको ३३औं मिनेटमा जेम्स प्रजापतिको गोलमार्फत नमो बुद्धले अग्रता बनाएको थियो। आफ्नो डिफेन्स लाइनबाट प्राप्त लामो पासलाई नियन्त्रणमा राख्दै जेम्सले सुन्दर गोल गरेका थिए। तर, पहिलो हाफको इन्जुरी समयमा चर्च ब्वाइजका लागि ध्रुव राईले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

दोस्रो हाफमा पुनः नमो बुद्धले अग्रता बनाउन सफल भयो। ६१औं मिनेटमा जेम्सले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए। तर, दबाबमा परेको चर्च ब्वाइजका लागि ८५औं मिनेटमा राज भूषालले विपक्षी गोलकिपर जयनाथ शेखबाट रिबाउन्ड भएको बललाई चलाखीपूर्ण हेडरमार्फत जाली चुमाएर खेललाई पुनः बराबरीमा ल्याए। त्यसपछि कुनै गोल नहुँदा खेलको निर्णय टाइब्रेकरबाट लिइयो।

पेनाल्टी सुटआउटमा नमो बुद्धका विवेक गुरुङ, आयुष मगर, अनिल मगर र विवेक राईले गोल गरे। चर्च ब्वाइजका लागि विदेशी खेलाडी तल्ला र फोफोना मात्र गोल गर्न सफल रहे। अभिषेक महतो र सागर तिरुवाको प्रहारमा नमो बुद्धका गोलकिपर जयनाथ शेखले अवरोध गरेपछि प्रतियोगितामा चर्च ब्वाइजको यात्रा अन्तिम सेमिफाइनलबाट टुंगियो।

खेलको म्यान अफ द म्याच विपक्षीका दुईवटा पेनाल्टी रोक्ने उत्कृष्ट प्रदर्शन गरेका नमो बुद्ध एफसीका गोलकिपर जयनाथ शेख घोषित भए। उनलाई नेपाली कांग्रेस पाँचथरका सभापति रुपनारायण जबेगु र आयोजक पाँचथर क्लबका अध्यक्ष कमल तुम्रोकले ट्रफी तथा नगद ७ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरे। यस्तै, फ्यान अफ द म्याच फिदिम–१ का प्रिसेन श्रेष्ठ घोषित भए।

चार ‘ए’ डिभिजन क्लब र एक छिमेकी मुलुक भारतको टोलीसहित आठ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत २ गते आजको विजेता नमो बुद्ध एफसी सप्तरी र मच्छिन्द्र फुटबल क्लब काठमाडौँबीच हुनेछ। प्रतियोगिताको विजेताले नगद ११ लाख १ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ हात पार्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय