
पाँचथर । अखिल नेपाल खेलकुद महासंघ पाँचथरको दोस्रो अधिवेशनले कबिरमान तुम्बापोलाई पुनः अध्यक्षमा चयन गरेको छ। बिहीबार फिदिममा सम्पन्न अधिवेशनबाट तुम्बापोको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।
नवगठित कार्यसमितिमा उपाध्यक्षमा गम्भीरहाङ नेम्बाङ, योगेश थापा र सन्तोष लावती चयन भएका छन्। त्यस्तै, सचिवमा सागर नेम्बाङ, सहसचिवमा राजु राई र कोषाध्यक्षमा जनम लोवा चयन भएका छन्।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सीता थेबे प्रमुख अतिथिका रूपमा सहभागी थिइन्। विशेष अतिथिमा पार्टीको प्रदेश सचिवालय सदस्य तथा जिल्ला सहइन्चार्ज दिनेश लावती, पार्टीको प्रदेश सचिवालय सदस्य एवम् अखिल नेपाल खेलकुद महासंघ प्रदेश फ्याक्सन इन्चार्ज सन्तोष चौधरी, र अखिल नेपाल खेलकुद महासंघ केन्द्रीय सदस्य तथा पाँचथर इन्चार्ज सुरेश साहको उपस्थिति थियो। कार्यक्रममा पार्टीका अन्य प्रदेश सदस्य तथा जिल्ला समन्वय सदस्यहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रमको जानकारी दिँदै अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा नेकपा माओवादी केन्द्र जिल्ला समिति पाँचथरका कार्यालय सचिव सन्दीप तुम्रोकले अधिवेशन सफलतापूर्वक सम्पन्न भएको बताए।
अखिल नेपाल खेलकुद महासंघ माओवादी केन्द्रसँग सम्बद्ध खेलकुद क्षेत्रको भातृ संगठन हो।