
फालेलुङ, पाँचथर।
पाँचथरको फालेलुङ गाउँपालिका–३ र ४ नम्बर वडाको संगमस्थल थाप्ली डाँडा सिर्लिङ्गी टारमा दोस्रो फालेलुङ पर्यटन महोत्सव चैत १८ देखि २३ गतेसम्म आयोजना हुने भएको छ। मंगलबार पाँचथरको सदरमुकाम फिदिममा आयोजित पत्रकार सम्मेलनमा आयोजक तीन सिमाना जनसेवा समाज नेपाल, मेमेङले महोत्सवबारे जानकारी गराएको हो।
समुन्द्र सतहबाट करिब ३ हजार मिटर उचाइमा रहेको यस महोत्सवको मुख्य उद्देश्य आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ। यस क्षेत्रबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, कञ्चनजङ्घा, कुम्भकर्ण र मकालु लगायतका हिमालहरूको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। साथै, विश्वकै दुर्लभ वन्यजन्तु हाब्रे (रेड पाण्डा) सहित विभिन्न वन्यजन्तु तथा बहुमूल्य जडीबुटी पाइने यो क्षेत्र जैविक विविधताको हिसाबले पनि महत्वपूर्ण मानिन्छ।
महोत्सव अन्तर्गत विभिन्न प्रतियोगिता तथा मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिनेछ। यसपटक पहिलोपटक ८ किलोमिटर लामो साहसी म्याराथन प्रतियोगिता समावेश गरिएको छ, जसमा दौडथुन थाप्ली हुँदै तीन सिमाना परिक्रमा गरी पुनः थाप्लीमै समापन हुनेछ। यस्तै, फुटबल प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता, घोडा दौड (रेस), याक राइडिङ तथा चर्चित गायिका बबिना किराती समापनका दिनको विशेष सांगीतिक प्रस्तुति महोत्सवको आकर्षण हुने आयोजक अध्यक्ष योगेन्द्र सावदेन लेन्जोले जानकरी दिएको छ।
महोत्सवमा स्थानीय तथा परम्परागत परिकारको प्रवर्द्धनका लागि स्टलहरू रहनेछन्। विशेष रूपमा रैथाने खानेकुरा जस्तै याङ्बेन, गुराँसको रक्सी, चौरीको घ्यू, छुर्पी, भेडाको उनबाट बनेका आसकोट, भेडाको घ्यू, मालिङ्गोको चोयाबाट निर्मित डालो–डोको, साथै विभिन्न चित्रहरूको प्रदर्शनीसमेत गरिनेछ।
फालेलुङ गाउँपालिकाको तीन सिमाना, फालुट लगायतका स्थान पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्दै गएका छन्। स्थानीय पर्यटन प्रवर्द्धन गर्दै व्यवस्थित बनाउन गाउँपालिका निरन्तर सक्रिय रहेको अध्यक्ष वीर विक्रम थाम्सुहाङले बताए। पर्यटनलाई रोजगारीको स्रोतका रूपमा विकास गर्दै स्थानीय स्तरमै आयआर्जन वृद्धि गराउने लक्ष्य रहेको उनको भनाइ छ।
महोत्सवको समापन समारोहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री भुपेन्द्र राईको उपस्थिति रहने आयोजक सचिव गणेश थाम्सुहाङले जानकारी दिए। महोत्सवमा विभिन्न स्थानका साथै छिमेकी मुलुक भारतबाट समेत गरी पाँच हजारभन्दा बढी दर्शक तथा पर्यटक सहभागी हुने अपेक्षा गरिएको छ।
फालेलुङ गाउँपालिकाले महोत्सवका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने आयोजकका अनुसार महोत्सव सञ्चालन खर्च ८ लाखभन्दा माथि हुने अनुमान गरिएको छ। गत वर्ष मंसिर २७ गतेदेखि तीन दिनसम्म आयोजना भएको महोत्सव यसवर्ष भने चैत महिनामा मात्रै आयोजना गर्न लागिएको हो।
फालेलुङ गाउँपालिकामा हरेक वर्ष तीनवटा प्रमुख महोत्सव आयोजना हुने गर्छ। सन् २०७४ देखि निरन्तर रूपमा वैशाख १ गतेदेखि चौरी पर्यटन महोत्सव सञ्चालन हुँदै आएको छ भने वाङ्मय प्रतिष्ठानले सांस्कृतिक महोत्सवसमेत आयोजना गर्दै आएको छ। यी सबै महोत्सवले स्थानीय कला, संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्न योगदान पुर्याइरहेको गाउँपालिका अध्यक्ष थाम्सुहाङले बताए।