
फिदिम। एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला तथा नगर परिषद आज फिदिममा सम्पन्न भएको छ। संगठनको प्रथम जिल्ला तथा फिदिम नगर परिषद् जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको हो, जसमा एकीकृत अखिल नेपाल शिक्षक संगठन १ नं. प्रदेश कमिटीका उपमहासचिव कमल प्रसाद बाँस्कोटाले प्रमुख आतिथ्य गरेका थिए।
परिषद्मा संगठनका जिल्ला अध्यक्ष छविलाल न्यौपानेले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष खेमनाथ खनालले पेश गरेको आर्थिक प्रतिवेदनलाई व्यापक छलफलसहित पारित गरिएको थियो। त्यसैगरी, फिदिम नगर समितिका अध्यक्ष रामप्रसाद बाँस्कोटाले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदनलाई आवश्यक संशोधनसहित पारित गरिएको छ। साथै, फिदिम नगरपालिकामा रिक्त रहेका सदस्य पदमा फिदिम माविका शिक्षक लक्ष्मी दाहाल नवीन, सगरमाथा आवि फिदिम-८ का प्रधानाध्यापक रत्नकुमार गुरुङ र जनकल्याण आविका शिक्षक बिमला राईलाई मनोनयन गरिएको छ।
परिषद्ले नेपाल सरकार, नेपाल शिक्षक महासंघ, नेपाल राहत शिक्षक समिति, पेन्सन वञ्चित शिक्षक समूह, नेपाल विद्यालय कर्मचारी समूह, बालविकास शिक्षक समूह तथा अनुदानमा कार्यरत शिक्षकहरूको माग र मुद्दाहरूलाई समेटेर यही हिउँदे अधिवेशनबाट शिक्षा ऐन ल्याइनुपर्ने माग राखेको छ। परिषद्ले यी मागहरू पूरा गराउन नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको आन्दोलनलाई पूर्ण समर्थन गर्ने निर्णय गरेको छ।
त्यसैगरी, परिषद्ले जिल्लाका बाँकी रहेका ७ वटै पालिकाहरूमा यही फागुन मसान्तसम्म गाउँपालिका परिषद् सम्पन्न गर्ने तथा चैत २३ गते हुने १ नं. प्रदेश परिषद्मा सशक्त रूपमा सहभागी हुने निर्णय गरेको छ। सदस्यता नवीकरण कार्यलाई तीव्र रूपमा अघि बढाउन पनि सबै पालिका समितिहरूलाई सक्रिय बन्न निर्देशन दिइएको छ। बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूको माग र मुद्दाहरूप्रति दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै खेद प्रस्तावसमेत पारित गरेको छ।
परिषद् भेलामा प्रमुख अतिथि उपमहासचिव कमल प्रसाद बाँस्कोटाका साथै नेकपा (माओवादी केन्द्र) का प्रदेश कमिटी सदस्य एवं जिल्ला सह-इन्चार्ज दिनेश लावती, जिल्ला संयोजक विशाल रसाइली, फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपाने, प्रदेश कमिटी सचिवालय सदस्य टीका प्रकाश नेम्बाङ, प्रदेश कमिटी सदस्य देवी थापा मगर, फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्र जबेगु फुन्बिमा, नेपाल शिक्षक महासंघका सह-अध्यक्ष लक्ष्मण बाँस्कोटा, अखिल नेपाल लेखक संघका जिल्ला अध्यक्ष मचिन्द्र लोवा लगायतले सम्बोधन गरेका थिए।
उनीहरूले संगठन विस्तारलाई तीव्रता दिँदै शिक्षक, विद्यालय कर्मचारी तथा बालविकास शिक्षकहरूको मागलाई सरकारले वेवास्ता गरेमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए। सरकारले शिक्षकहरूको विगतका सम्झौताहरूलाई बेवास्ता गर्दै शिक्षा ऐन ल्याउन खोज्नु लोकतन्त्रको उपहास भएको भन्दै आन्दोलनलाई अझ सशक्त बनाउनु पर्नेमा उनीहरूले जोड दिएका थिए।
कार्यक्रममा फाल्गुन्द गाउँ कमिटी अध्यक्ष खड्कबहादुर नेम्बाङ, फालेलुङ गाउँ कमिटी अध्यक्ष तेजबहादुर साउदैन, तुम्बेवा गाउँपालिका कमिटी अध्यक्ष योगेन्द्रराज खत्री, हिलिहाङ गाउँ कमिटी अध्यक्ष हेमराज सापकोटा, मिक्लाजु गाउँपालिका कमिटी सदस्य तेजबहादुर लावती लगायतका पालिका अध्यक्ष तथा प्रतिनिधिहरूले आ-आफ्ना प्रतिवेदनहरू प्रस्तुत गरेका थिए।
संगठनका जिल्ला उपाध्यक्ष नरेन्द्र केरुङले स्वागत मन्तव्य दिएका थिए भने परिषद्को उद्घाटन प्रमुख अतिथि कमल प्रसाद बाँस्कोटाले गरेका थिए। कार्यक्रममा प्रदेश कमिटी सदस्य वीरेन्द्र बाँस्कोटा, एकीकृत अखिल नेपाल शिक्षक संगठन १ नं. प्रदेश कमिटी सदस्य ज्ञाननाथ बाँस्कोटा विशेष अतिथिको रूपमा उपस्थित थिए।
परिषद्मा संगठनका पदाधिकारी, सदस्यहरू, शिक्षक महासंघका प्रतिनिधिहरू, विद्यालय कर्मचारी तथा बालविकास शिक्षकहरू उपस्थित थिए। संगठन विस्तार जारी रहेको बताउँदै संगठनका जिल्ला कोषाध्यक्ष खेमनाथ खनालले हालसम्म ३५० भन्दा बढी सदस्य रहेकोमा १७१ जनाको सदस्यता नवीकरण भइसकेको जानकारी दिए।