पाँचथर ।
पाँचथरका विभिन्न पर्यटकीय तथा धार्मिक स्थलहरूमा छायांकन गरिएको नेपाली फिल्म “ऊनको स्वीटर” को प्रदर्शन मिति सार्वजनिक गरिएको छ। चलचित्र यही वैशाख २६ गतेबाट देशभर प्रदर्शनमा आउने भएको हो।

Nepalitheme

फिल्मको प्रचारप्रसारलाई तीव्र बनाउन निर्माण टोलीले “ऊनको स्वीटर साँझ” कार्यक्रम सञ्चालन गरिरहेको छ। वैशाख १२ गते(आज) पोखरामा कार्यक्रम सम्पन्न भइसकेको छ भने वैशाख १८ गते धरानमा पहिलोपटक “ऊनको स्वीटर साँझ” आयोजना हुने भएको छ। धरानस्थित रंगशालामा हुने कार्यक्रममा फिल्मका प्रमुख कलाकारहरूसहित सुजन चापागाईं एण्ड दि इन्फिनिटी ब्याण्डको प्रस्तुत रहनेछ। कार्यक्रम साँझ ५ बजेबाट सुरु हुने छ। धरानको कार्यक्रम सिल्भर इन्टरटेन्मेन्टले आयोजना गर्न लागेको हो।

फिल्मका लाइन प्रोड्युसर फुङ्सो जबेगूका अनुसार प्रचारप्रसार अभियानअन्तर्गत हुने धरानको साँझ कार्यक्रम कोशी प्रदेशमै पहिलोपटक आयोजना हुन लागेको हो। कार्यक्रममा अभिनेता विपिन कार्की, अभिनेत्री मिरुना मगर, गायक सुजन चापागाईं, गायिका झुमा लिम्बू, सुनिता थेगिम लगायत अन्य कलाकार तथा निर्माण टिम सहभागी हुनेछन्।

ऊनको स्वीटर टेजर

“ऊनको स्वीटर” को छायांकन गत वर्ष जेठ १८ गतेदेखि सुरू भई तीन चरणमा सम्पन्न भएको थियो। कार्तिकसम्म चलेको छायांकन पाँचथरको नवमी डाँडा, लब्रेकुटी, सुके पोखरी, साधुटार र फालेलुङ गाउँपालिका क्षेत्रको भारतसँग जोडिएको सिमाना आसपासका रमणीय स्थलहरूमा गरिएको थियो।

चलचित्रको निर्देशन नवीन चौहानले गरेका हुन्। फिल्ममा विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई, परिक्षा लिम्बू, एलेक्स पारस, माउसे गुरुङलगायतका कलाकारको अभिनय रहेको छ।

फिल्मका गीतहरू पनि लोकप्रिय बन्न थालेका छन्। हालसम्म तीनवटा गीत सार्वजनिक भइसकेका छन्। “फूल” बोलको गीत एक वर्षअघि सार्वजनिक भएको थियो, जसले हालसम्म १८ मिलियनभन्दा बढी भ्यूज प्राप्त गरिसकेको छ। दोस्रो गीत “मखमली” ले पनि दर्शकमाझ लोकप्रियता पाएको छ, जसको भ्यूज १० मिलियन नाघिसकेको छ। केही दिनअघि मात्र सार्वजनिक गरिएको तेस्रो गीत “काफ्ले” अहिले सामाजिक सञ्जालमा निकै चर्चामा रहेको छ। यस गीतमा झुमा लिम्बू र सुजन चापागाईंको स्वर रहेको छ।

चलचित्रमा सुजन चापागाईं, झुमा लिम्बू र सुनिता थेगिम लिम्बूको स्वर रहेका गीत समावेश छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय