फिदिम, पाँचथर।

Nepalitheme

नेपाल शिक्षक महासंघद्वारा घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत आज नेपाल शिक्षक महासंघ पाचथरले धर्ना बसेर शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरका निमित्त प्रमुख ब्रजभूषण रायलाई ध्यानाकर्षण पत्र बुझाएको छ। महासंघका सम्बद्ध तथा आवद्ध घटक संस्थाका प्रतिनिधिहरूले हातमा कालोपट्टी बाँधी एक घण्टा धर्ना दिएर ध्यानाकर्षण पत्र बुझाएका हुन्।

नेपाल सरकारले शिक्षक महासंघ, राहत शिक्षक, वालविकास तथा विद्यालय कर्मचारीका संस्थाहरूसँग गएको असोजमा गरेको २२ बुँदे सहमति उल्लंघन गर्दै नयाँ शिक्षा ऐन ल्याउन लागेको र अध्यादेश जारी गरेकोप्रति असन्तुष्टि जनाउँदै महासंघ आन्दोलनमा उत्रिएको हो।

नेपाल शिक्षक महासंघ जिल्ला समिति पाचथरको अगुवाइमा आयोजित धर्ना कार्यक्रमपछि महासंघ जिल्ला समिति अध्यक्ष नरेन्द्र बहादुर सम्बाहाम्फेले निमित्त प्रमुख रायलाई ध्यानाकर्षण पत्र बुझाएका थिए। एकीकृत अखिल नेपाल शिक्षक संगठन फिदिम नगर समिति अध्यक्ष रामप्रसाद बाँस्कोटाले सो जानकारी दिएका छन्।

महासंघले अस्थायी शिक्षकलाई प्रक्रिया पूरा गरी स्थायी गर्नुपर्ने, पुरानो शिक्षा ऐनअनुसार नियुक्त भएका शिक्षकलाई पूर्ण पेन्सन दिनुपर्ने, विद्यालयका कर्मचारी तथा वालविकास शिक्षकलाई दरबन्दी कायम गरी स्थायी प्रकृयामा लैजानुपर्ने, शिक्षक बढुवा हरेक १० वर्षमा हुनुपर्ने लगायत विभिन्न माग राखेको छ।

नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष वीरेन्द्र खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनले शिक्षा ऐन शिक्षकका माग सम्बोधन हुने गरी नआएसम्म आन्दोलन कुनै पनि हालतमा नरोकिने बताए।

धर्ना कार्यक्रममा विभिन्न शिक्षक संगठनका जिल्ला तथा नगर अध्यक्ष, उपाध्यक्ष, सचिवसहित १२० जना भन्दा बढी शिक्षक कर्मचारीहरूको उपस्थिति रहेको थियो। सो अवसरमा निमित्त इकाइ प्रमुख रायले शिक्षक कर्मचारीहरूको ध्यानाकर्षण पत्र केन्द्रमा पठाउने प्रतिबद्धता व्यक्त गरे।

देशभर ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइहरूमा महासंघको अगुवाइमा ध्यानाकर्षण पत्र बुझाइएको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय