
फिदिम, पाँचथर।
पाँचथरको फिदिम नगरपालिका-६, सिवास्थित वडाकार्यालयको नयाँ भवन पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोद्वारा उद्घाटन गरिएको छ। फाल्गुन ७ गते, बुधबार आयोजित कार्यक्रममा आङ्बोले औपचारिक रूपमा भवन उद्घाटन गरेका हुन्।
वडाकार्यालयको नयाँ भवन एक महिना पहिले नै निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको थियो, तर औपचारिक उद्घाटन बाँकी रहेको थियो। फिदिम नगरपालिकाका सबै वडामा भवन निर्माण सम्पन्न भइसकेका थिए भने ६ नम्बर वडाको मात्र बाँकी थियो।
पूर्वमन्त्री आङ्बोको पहलमा आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को प्रदेश बजेटबाट भवन निर्माण सम्पन्न गरिएको हो। उपभोक्ता समितिमार्फत निर्माण गरिएको यो भवनका लागि प्रदेश सरकारबाट ८० लाख रुपैयाँ र फिदिम नगरपालिकाबाट १५ लाख रुपैयाँ गरी कुल ९५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको वडा अध्यक्ष बिपन तुम्रोकले जानकारी दिए।
नवीन भवनमा जिन्सी शाखा, प्रविधिक शाखा, गेस्टरुमसहित ९ कोठा रहेका छन्। यसअघि पूर्वमन्त्री आङ्बोकै उपस्थितिमा भवनको शिलान्यास गरिएको थियो।
फिदिम-६ वडा कार्यालयले नागरिकलाई घरदैलोमै सेवा प्रदान गर्दै आएको छ। विशेष गरी, २४ वर्षको उमेरमै वडा अध्यक्ष निर्वाचित भएका बिपन तुम्रोक जिल्लाकै कान्छा वडा अध्यक्ष हुन्।