रानिटार, फिदिम।
सगरमाथा आधारभूत विद्यालय, फिदिम-८, घुमाउनेटारले आज दुई जना शिक्षकलाई विदाई गरेको छ।
२०४६ साल माघ १ गते श्री कालीका आधारभूत विद्यालय, फिदिम-७, नांलपाबाट शिक्षण पेशामा प्रवेश गर्नुभएका पर्शुराम अधिकारीले २०५२ साल साउन २२ गते लक्ष्मी आधारभूत विद्यालय, फिदिम-८, खान्द्रोङमा सरुवा भई सेवा गर्नुभएको थियो। त्यसपछि २०६५ साल वैशाख २९ गते श्री सगरमाथा आधारभूत विद्यालयमा सरुवा भई २०८१ साल जेठ २४ गतेसम्म प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएको अधिकारीले विद्यालयको उल्लेखनीय विकासमा योगदान दिनुभएको थियो।
सोही विद्यालयमा एक वर्षअघि प्राथमिक तह राहत शिक्षकका रूपमा नियुक्ति पाउनुभएका शिक्षिका पवित्रा आङदेम्बे (राई) को हालै सिद्धकाली आधारभूत विद्यालय, फिदिम-७, असिनेमासरुवा भएकोले विद्यालयले विशेष कार्यक्रम गरी दुबै जनालाई विदाई गरेको हो।
कार्यक्रममा प्रमुख अतिथि फिदिम नगरपालिका वडा नं. ८ का अध्यक्ष सोमबहादुर गुरुङले निवृत्त प्रधानाध्यापक अधिकारी र सरुवा हुनुभएकी शिक्षक आङदेम्बेलाई दोसल्ला, प्रमाणपत्र, फूलमाला र अविरसहित सम्मानपूर्वक विदाई गर्नुभएको थियो। कार्यक्रममा वडा सदस्य खड्कबहादुर मुखिया, नन्दमाया विक, बलबहादुर राई, भीमाकुमारी दुलाललगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो।
सो अवसरमा विभिन्न विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीहरूले खादा, माला, अविर र उपहारहरू प्रदान गर्दै भावपूर्ण विदाई गरेका थिए।
कार्यक्रममा वक्ताहरूले निवृत्त प्रधानाध्यापक अधिकारीको नेतृत्वमा विद्यालयले उल्लेखनीय प्रगति गरेको चर्चा गर्दै उहाँको स्वस्थ र दीर्घायु जीवनको कामना गरे। साथै, शिक्षिका आङदेम्बेको थप शैक्षिक सफलताको कामना पनि व्यक्त गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रअ रत्नकुमार गुरुङले गरेका थिए भने सहायक प्रअ पवित्रा गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। विदाई कार्यक्रममा २०८० शैक्षिक सत्रबाट कक्षा ८ पास गरी अन्य विद्यालयमा गएका ९ जना विद्यार्थीलाई पनि विदाई गरिएको थियो। साथै, सांस्कृतिक प्रस्तुति कार्यक्रमसमेत गरिएको थियो।