फिदिम, पाँचथर ।

Nepalitheme

पाँचथरको फिदिम नगरपालिकामा ८५ जनाभन्दा बढीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। मंसिर २३ गते, आइतबार आयोजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी उनीहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

पार्टीका जिल्ला संयोजक विशाल रसाइलीका अनुसार कार्यक्रममा नेकपा (एमाले), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी फिदिम नगरपालिका–१२, ४ र ११ वडाका व्यक्तिहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशी रिन्जी शेर्पाले माओवादी केन्द्र नै जनताको आवश्यकतामा आधारित पार्टी भएको दाबी गरे। उनले भने, “अहिलेसम्म अन्य पार्टीमा बसेर धेरै दुःख र संघर्ष गरियो तर परिवर्तन सम्भव भएन। अब देशमा परिवर्तन गर्न माओवादी केन्द्रले मात्र सक्छ। त्यसैले हामी गोलबद्ध भएर यो पार्टीमा प्रवेश गरेका हौं।”

कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय सदस्य, १ नम्बर प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभाका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो (मौसम) रहेका थिए। उनले माओवादी केन्द्र नै आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने विश्वास व्यक्त गरे।

आङ्बोले मंसिर १६ गतेको उपनिर्वाचनमा प्राप्त सफलताले २०८४ को आमनिर्वाचनमा पार्टीलाई बलियो बनाउन सहयोग गर्ने बताए। “हामी तत्काल सरकारमा जाने छैनौं। सडकबाटै जनताको आवाज सरकारमा खबरदारी गर्नेछौं,” उनले भने।

पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सीता थेवे (प्रमिला), प्रदेश कमिटीका पदाधिकारी, जिल्ला र नगरपालिकास्तरीय नेताहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको पार्टी कार्यालय सचिव सन्दीप तुम्रोकले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय