तेह्रथुम। करीब एक वर्षको अवधीमा तेह्रथुममा ५७ वटा मानव अधिकार उलङ्घनका घटना घटेका तथ्याङ्क सार्वजनिक भएको छ।
तेह्रथुममा सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा ५७ वटा मानवधिकार उल्लङ्घनका घटना घटेका हुन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र ¬¬(इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को पूर्व वार्षिक समीक्षा कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो।
इन्सेकका तेह्रथुम प्रतिनिधि सुरेश खत्रीले एक वर्षमा भएका घटनाहरुमा बालिका बलात्कारका पाँच, महिला बलात्कार तथा बलात्कार प्रयासका पाँच, घरेलु हिंसाका ४०, हत्या सम्बन्धी चार, भौतिक संरचना क्षतिको एक र वहुविवाहका दुई वटा घटना भएको बताए।
तेह्रथुममा सम्बन्ध विच्छेद र आत्महत्याका घटना बढ्दै गएका र ३५ जना क्षमता भएको जिल्ला कारागार तेह्रथुममा ९७ जना कैदिबन्दी राखिएको समेत जनाइएको छ। यस वर्ष अभिलेख गरिएका ५७ ओटा घटनाका सबै पीडित गैर राज्य पक्षबाट पीडित भएका छन्।
जिल्ला प्रशासन कार्यालय तेह्रथुमको सभाहलमा सम्पन्न समीक्षा कार्यक्रम प्रमुख जिल्ला अधिकारी मीना अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी अर्यालले प्रशासनले अपाङ्ता भएका नागरिकहरुलाई घरघरमै गएर नागरिकता प्रदान गरी मानवअधिकारको क्षेत्रमा काम गरेको बताए।
त्यस्तै जिल्लामा विकास निर्माणको क्षेत्रमा भएका ढिलासुस्तीका कारण नागरिकहरुले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै रोकिएका विकास निर्माणका कार्य सुरु गर्न प्रशासनले चासो दिई कदम चालेको समेत प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन्।
सहायक प्रमुख जिल्ला अधिकारी विक्रम लिम्बूले सम्बन्ध बिच्छेदका सबै घटनाहरु वास्तवितामा आधारित नभई कुनै निश्चित उपलब्धी प्राप्तीका लागि केही समय कागजी रुपमा मात्र सम्बन्ध बिच्छेद हुने गरेकाले तथ्याङ्कमा देखिएजस्तो सम्बन्ध बिच्छेदका घटना बढी नभएको बताए।