याङवरक, पाँचथर ।
रेडपाण्डा नेटवर्क र दीप ज्योति युवा क्लब पाँचथरले याङवरक गाउँपालिका वडा नं. १ र २ का चौरीपालक कृषकलाई सोलार बत्ती प्रदान गरेका छन्।
आइतबार याङवरक गाउँपालिका वडा नं. १ को वडा कार्यालयमा उच्च पहाडी क्षेत्रमा चौरीपालन व्यवसाय गर्दै आएका १५ गोठलाई ५० वाटका सोलार बत्ती वितरण गरिएको हो।
दीप ज्योति युवा क्लबका लेखा सन्त चाम्लिङका अनुसार, सोलार बत्तीको वितरणले चौरी गोठहरूलाई अन्धकारमुक्त बनाउन मद्दत पुर्याउने उद्देश्य राखिएको छ। रेडपाण्डा नेटवर्क र क्लबले दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणमा सक्रियताका साथ काम गर्दै पाँचथर र इलाममा पनि अभियान सञ्चालन गर्दै आएको छ।
करीब ४ हजार मिटरको उचाइमा रहेका यी चौरी गोठहरूले हरेक वर्ष तीनपटक स्थानान्तरण गर्नुपर्ने अवस्था छ। जाडो याममा हिमपात हुने भएकाले चौरीलाई तल्लो क्षेत्रमा झार्नुपर्ने र वर्षामा तिम्बुङ पोखरी, घुमाउने, पाडे मेघु र डुर जस्ता ठाउँमा लैजानुपर्ने व्यवसायी लोकेन्द्र राईले बताए।
राईका अनुसार, अहिलेसम्म कुनै निकायबाट ठोस सहयोग प्राप्त नभएको र चौरीपालनलाई थप व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराए। चौरी गाई पर्यटनको मुख्य आकर्षण भएकोले यसलाई संरक्षण गर्नुपर्ने व्यवसायीहरूको माग छ।
चौरी गोठले सीमा सुरक्षामा समेत योगदान पुर्याउने भन्दै पूर्व याक महासंघका उपाध्यक्ष चन्द्रलाल नेपालले गोठहरूको संरक्षण आवश्यक रहेको धारणा व्यक्त गरे। “गोठ नभए पर्यटन र सीमा सुरक्षा दुवै प्रभावित हुन्छन्,” उनले भने।
व्यवसायी गर्जमान गुरुङका अनुसार, चौरीपालनबाट दूध, घिउ, छुर्पी उत्पादन गरी जीविकोपार्जन गर्ने परम्परा रहेको छ। तर पछिल्ला तीन दशकमा चौरी गोठको संख्या २५ प्रतिशतले घटेको तथ्यांक प्रस्तुत गर्दै उनले युवा पुस्ता विदेश पलायन र तराईतिर सर्ने प्रवृत्ति बढेको बताए।
सोलार वितरण कार्यक्रममा याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ र याङवरक–२ का वडाध्यक्ष दिउकुमार योङ्हाङले चौरीपालनलाई व्यवस्थित गर्दै अनुदान प्याकेज उपलब्ध गराउने प्रतिवद्धता जनाए। उनीहरूले चौरीपालक कृषकको अवस्थालाई सुधार गर्दै यस व्यवसायलाई संरक्षण गर्ने योजना अघि सार्ने बताए।
रेडपाण्डा नेटवर्कले र याङवरक क्षेत्रमा मात्र पाइने रेडपाण्डाको संरक्षणमा काम गर्दै आएको छ। यस संस्थाले स्थानीय सामुदायिक विद्यालयहरूमा रेडपाण्डासम्बन्धी पाठ्यपुस्तक पठाउँदै आएको सँस्थाका कार्यकारी निर्देशक सुनिल बान्तावाले बताए।
यसअघि पनि रेडपाण्डा नेटवर्कले फालेलुङ चौरीपालक कृषकलाई चुलो वितरण गरेको थियो। अब सशस्त्र सीमा सुरक्षा बललाई समेत चुलो वितरण गर्ने योजना रहेको उनले जानकारी दिए।
चौरीपालन जस्तै महत्वपूर्ण परम्परागत व्यवसायलाई जोगाउन र उच्च पहाडी क्षेत्रको समग्र विकास गर्न स्थानीय सरकार र संस्थाहरूको थप पहल आवश्यक रहेको देखिन्छ।