पाँचथर ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को १० औं विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम शुक्रबार पाँचथरको फिदिमस्थित जिल्ला विकास समितिको भवनमा सम्पन्न भएको छ। कार्यक्रममा केन्द्र, प्रदेश, र जिल्ला स्तरका दुई सयभन्दा बढी सदस्यहरूको उपस्थिति रहेको थियो।
जिल्ला समन्वय संयोजक विशाल रसाइलीका अनुसार बैठकमा जिल्लाका सबै पालिका अध्यक्ष, निर्वाचित जनप्रतिनिधि र विभिन्न तहका सदस्यहरू सहभागी थिए। बैठकमा जिल्लाका आठवटै स्थानीय तहका कमिटी संयोजकहरूले पार्टीको प्रगति, समस्या र गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका पोलिटब्युरो सदस्य, पूर्वमन्त्री, तथा हालका सांसद इन्द्रबहादुर आङ्बो थिए। अन्य विशिष्ट अतिथिहरूमा पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ, पार्टीका केन्द्रिय सदस्य तथा पूर्वसांसद सीता थेवे, प्रदेश सदस्यहरू र जिल्ला समन्वय सदस्यहरूको उपस्थिति रहेको थियो।
प्रमुख अतिथि आङ्बोले वर्तमानमा प्रतिपक्षी भूमिकामा रहेर माओवादी केन्द्र जनताको आवाज बुलन्द गर्न प्रतिवद्ध रहेको बताए। उनले माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने स्पष्ट गर्दै एमालेको आलोचना गरे। “सरकारमा बसेर आलोचना खेपिरहेको नेकपा एमालेले जनताको आशा र विश्वास तोडेको छ,” आङ्बोले भने। उनले जनताको घरदैलोमा पुगेर जनताका समस्यामाथि आवाज उठाउँदै सरकारलाई खबरदारी गर्ने धारणा व्यक्त गरे।
प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा माओवादी केन्द्रले तीनदेखि चार सिटसम्म जित्ने दाबी गरे। “मिसन ८४” लाई सफल बनाउन उपनिर्वाचनले माओवादीको सशक्त उपस्थिति पुष्टि गर्ने उनको भनाइ थियो।
बैठकका क्रममा फालेलुङ गाउँपालिकाबाट दुई दर्जनभन्दा बढी व्यक्तिले माओवादी केन्द्रमा प्रवेश गरेको जिल्ला संयोजक रसाइलीले जानकारी दिए। यो प्रवेशले माओवादी केन्द्रले भविष्यमा देशको पहिलो पार्टी बन्ने संकेत दिएको नेताहरूले दाबी गरे।
बैठकले जिल्ला कार्यालय सचिवको जिम्मेवारी सन्दीप तुम्रोकलाई दिएको छ। यसअघि उक्त पदमा रहेका चन्द्र माङ्मु अखिल क्रान्तिकारी प्रदेश अध्यक्षमा चयन भएपछि सचिव पदबाट राजीनामा दिएका थिए।
बैठकले पार्टीलाई सुदृढ बनाउँदै जनताको बीचमा पुग्ने नीतिलाई प्राथमिकता दिने निर्णय गरे। साथै, आगामी उपनिर्वाचनलाई सफल बनाउन रणनीतिक तयारीमा जुट्ने प्रतिवद्धता पनि नेताहरुले राखे।
कार्यक्रमको सञ्चालन महेन्द्र जबेगुले गरेका थिए भने बैठकको अध्यक्षता जिल्ला समन्वय संयोजक विशाल रसाइलीले गरेका थिए।
तस्विरहरु–