फिदिम, पाँचथर ।

Nepalitheme

२०५५ सालमा निर्माण सुरु भई २०७१ सालमा सम्पन्न भएको पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नम्बर २, पल्लोटारस्थित बषपार्क सञ्चालन नहुँदा अहिले सुनसान भएको छ। स्थानीयबासीले पटक-पटक नगरपालिकामा ध्यानाकर्षण गराउँदा समेत नगरले चासो नदेखाएको वडा अध्यक्ष दिननाथ अधिकारीले जानकारी दिनुभयो। संघीय सरकारको करिब दस करोड बढी रकमको लगानीमा निर्माण सम्पन्न भएको यस बषपार्क सञ्चालनमा ल्याउन फिदिम नगरपालिकाको उदासीनता देखिएको छ।

वडा अध्यक्ष अधिकारीका अनुसार पालिकाले तयार पारेको नीतिलाई कार्यान्वयनमा नल्याउँदा बषपार्क सञ्चालनमा खासै ध्यान दिइएको छैन। चार वर्षअघि बषपार्क सञ्चालनमा आएको भए पनि कोरोना महामारीको कारण पुनः सुनसान बन्न पुगेको थियो। त्यसयता पटक-पटक प्रयास गरिए पनि सवारीसाधनको नियमित चहलपहल कायम गर्न नसकिएको जनाइएको छ।

ऊनको स्वीटर टेजर

स्थानीय ११ जनाले ८ रोपनी जमिन, जसको मूल्य करिब २० करोड बराबर छ, निःशुल्क रूपमा बषपार्कका लागि उपलब्ध गराएका थिए। हाल बषपार्क १० रोपनीभन्दा बढी क्षेत्रमा फैलिएको छ। बषपार्कको उपयोग नहुनुका कारण फिदिम बजारभित्रको साँघुरो सडकमा सवारीसाधनको पार्किङले बजार अस्तव्यस्त र जोखिमपूर्ण बनाएको छ। यस विषयमा नगरले चासो नदेखाएको स्थानीयबासी रामचन्द्र नेपालले बताउनुभयो।

मेचीराजमार्गको दायाँबायाँ अटेरी गर्दै सवारीसाधन पार्किङ गर्दा राजमार्ग अवरुद्ध हुने स्थिति बनेको छ। बषपार्कमा केही मात्रामा सवारीसाधन पुगेर पार्किङ गर्दा प्रति सवारीसाधन ४० रुपैयाँ नगरपालिकाले असुल्ने गरेको छ। तर, रकम असुलीमा मात्रै चासो देखाएर बषपार्क सञ्चालनको प्रयास नगरेको भन्दै स्थानीयले गुनासो गरेका छन्। वडा अध्यक्ष अधिकारीले नगरपालिकाले बषपार्क सञ्चालनमा असफल भएको भए पनि अब चाँडै ठोस योजना बनाएर यसको सञ्चालन सुनिश्चित गरिने बताउनुभयो।

बषपार्क सुनसान हुँदा फिदिम बजारको मुख्य सडक क्षेत्र, विशेष गरी शनिबारेदेखि आहालगैरीसम्म सवारीसाधनले ओगटेको देख्न सकिन्छ। मेचीराजमार्गमै सबै सवारीसाधन पार्किङ हुँदा सरोकारवाला निकायहरू यसबारे मौन बसेको स्थानीयको गुनासो छ। नयाँ सहरको रूपमा विकास हुँदै गरेको फिदिम बजारमा सडक अवरुद्ध हुने गरी सवारीसाधन पार्किङले सुन्दरता र व्यवस्थापनमा समस्या उत्पन्न गराएको छ। मुख्य राजमार्ग जाम हुँदा फिदिमको वातावरण कुरुप बनेको छ भने नगरपालिकाले यस्ता समस्याहरूमा चासो नदेखाएको बजारबासी र यात्रुको गुनासो छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय