
आठराइ, तेह्रथुम।
तेह्रथुमको आठराई गाउँपालिका वडा नम्बर ५ छत्तेढुंगामा “आठराई सचेत नागरिक समाज” ले प्लास्टिकजन्य फोहोर संकलन तथा व्यवस्थापन अभियान सञ्चालन गरेको छ। जिल्लाका युवाहरू एकजुट भई समाज दर्ता गरी पालिकालाई सफा राख्न र वातावरणीय सन्तुलनमा योगदान पुर्याउन यो अभियान अघि बढाएका हुन्। यसअघि ४ नम्बर वडाको इवामा यस्तै गतिविधि गरिसकेको समाजले अब विभिन्न वडाका बजार, चोक, कार्यालयहरू र मठमन्दिरमा पनि डस्टबिन राख्ने कार्य गर्दै आएको छ।
मंगलबारको सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ५ का वडा अध्यक्ष विष्णु प्रसाद ओली, विशेष अतिथि वडा नम्बर १ का वडा अध्यक्ष प्रेमराज फोम्बो, समाजसेवी सुशिल कन्दंग्वा, समाजका अध्यक्ष तेजबहादुर इङ्नाम, उपाध्यक्ष अमर विशुङ्खे, सचिव घनश्याम ढुंगेल, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, र स्थानीय विद्यार्थी प्रतिनिधि रिता विशुङ्खे लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता सावित्री बाँनियाले गरेकी थिइन् भने सञ्चालन रिना घतानीले गरेकी थिइन्। १ सयभन्दा बढी युवाहरूको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा समाजकी सदस्य रिना घतानीले जानकारी दिइन्।
विशेष अतिथि प्रेमराज फोम्बोले यस्तो अभियानले स्थानीय र बाह्य पर्यटन प्रवर्द्धनमा मद्दत पुर्याउने बताउँदै जनप्रतिनिधिहरूले यसमा निस्वार्थ सहयोग गर्नुपर्ने धारणा राखे। उनले संकलित फोहोरलाई सहि तरिकाले व्यवस्थापन गर्न र पालिकाले डम्पिङ साइट निर्माण गर्न आवश्यक रहेको बताए। प्रमुख अतिथि विष्णु प्रसाद ओलीले स्थानीय सरकारबाट डस्टबिन राख्न नसकेको ठाउँमा समाजले टोल-टोल र सार्वजनिक ठाउँमा राखेर सराहनीय कार्य गरेको भन्दै प्रशंसा गरे।
समाजका अध्यक्ष इङ्नामले छत्तेढुंगाको बजार, मन्दिर र परिसरमा सरसफाइ गरिएको जानकारी दिँदै, समाजले सरसफाइ अभियानसँगै भ्रष्टाचार, अनियमितता, बेथिति र सामाजिक अपराधविरुद्ध पनि आवाज उठाउने बताए। उपाध्यक्ष अमर विशुङ्खेले युवाहरूको गुनासो नसुन्ने स्थानीय सरकारलाई खबरदारी गर्दै विकासमा ध्यान नदिए समाजले यसबारे सशक्त रूपमा भूमिका खेल्ने बताए।
समाजका सल्लाहकार सुमन हाङ्श्रोङले दक्षिण कोरियाबाटै आर्थिक र सामाजिक सहयोग गर्दै आइरहेको जनाउँदै, समाजले बाढी-पहिरो, आगलागी, विपद्मा परेका पीडितहरूको उद्धार र एकल महिला तथा घरविहीनलाई घर निर्माणमा पनि सहयोग पुर्याएको जानकारी दिए। समाजले आर्थिक रुपमा कमजोर र असहाय परिवारलाई विद्युत् मिटरबक्स जडान र अन्य सहयोग उपलब्ध गराएको छ।
तस्विरहरु——