
पाँचथर। पाँचथर जिल्लामा असोज ९ देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिरोले ८ जनाको मृत्यु भएको छ भने ३ जना अझै बेपत्ता छन्।
प्राकृतिक प्रकोपले जिल्लाका ग्रामीण क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। जसमा दर्जनौं घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने सयौं परिवारहरू विस्थापित भएका छन्।
जिल्लाको फालेलुङ गाउँपालिका-३, ४, ५ र ६, फिदिम नगरपालिका-१३ र १४ तथा फाल्गुनन्द गाउँपालिका-५ का विभिन्न बस्तीहरू बाढी र पहिरोको चपेटामा परेका छन्। यी क्षेत्रमा ठूला भौतिक संरचना समेत ध्वस्त भएका छन्, जसमा राज्यको महत्वपूर्ण लगानी गरिएको थियो।
प्रभावित क्षेत्रमा तत्कालीन राहतका लागि स्थानीय संघसंस्था, राज्य र विभिन्न राजनीतिक दलहरूले राहत वितरण थालेका छन्। माओवादी केन्द्रका प्रदेश कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङले सबै प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन्। नेम्वाङले बाढी पहिरोबाट पूर्ण रूपमा क्षति भएका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई आग्रह गरेका छन्। उनले भने, “राहतको नाममा केही चामल र लत्ताकपडाले मात्र पीडितहरूको समस्याको समाधान हुँदैन, दीर्घकालीन व्यवस्थापनको आवश्यक छ।”
त्यस्तै, नेकपा माओवादी केन्द्रका केन्द्रिय उपमहासचिव तथा पूर्वमन्त्री हरिबोल गजुरेलले पनि सोमबार मेची राजमार्ग अन्तर्गत हेवा खोला र फेमे खोलाको अनुगमन गरेका थिए। सो क्षेत्रका पुलहरू बाढीले बगाएपछि हाल अस्थायी ड्राइभसनमार्फत यातायात सञ्चालन भइरहेको छ।
माओवादी केन्द्रको जिल्ला समन्वय समितिले मृतकका परिवारहरूलाई राहत वितरण गरिरहेको छ। सोमबारमात्र फिदिम नगरपालिकाका ८ परिवारलाई पार्टीले नगद १०/१० हजार राहत वितरण गरेको पार्टीका जिल्ला अध्यक्ष विशाल रसाइलीले जानकारी दिए।
त्यसैगरी बिहीबार फाल्गुनन्द गाउँपालिकामा मृतक परिवारलाई राहत वितरण गरिएको छ। फाल्गुनन्द-५ का नरबहादुर चेम्जोङको जुङ्जिवा खोलामा आएको बाढीले मृत्यु भएपछि उनको परिवारलाई राहत प्रदान गरिएको हो।
स्थानीयवासीहरूले भने राज्यबाट उचित खोजी र व्यवस्थापन कार्यको माग गरिरहेका छन्। बेपत्ता वृद्धा सन्चरानी चेम्जोङको परिवारले बेपत्ताको लिस्टमा नाम नराखिएकोमा गुनासो गरेका छन्। माओवादी केन्द्रका पाँचथर इन्चार्ज सीता थेवेले राज्यसँग खोजी कार्यमा सहयोगको पहल गर्ने प्रतिबद्धता जनाएकी छन्।
पाँचथरमा अझै पनि विभिन्न गाउँहरूमा बाढी र पहिरोको जोखिम उच्च रहेको छ। जिल्लाका धेरै क्षेत्रमा सडक अवरुद्ध भएकोले यातायात सञ्चालनमा कठिनाई परेको स्थानीयहरुको गुनासो छ।