पाँचथर, पौवा भञ्ज्याङ् । पाँचथरको पर्यटकीय सम्भावना बोकेको पौवा भञ्ज्याङ् क्षेत्रमा नेपाल सरकारको करोडौं लगानीमा निर्माण भएको चमेना गृह र सूचना केन्द्र अझैसम्म सञ्चालनमा आउन सकेका छैनन्।
२०७६ सालमा निर्माण सम्पन्न भएको भए पनि यी संरचनाहरू प्रयोगविहीन अवस्थामा छन्, जसले गर्दा स्थानीय समुदाय र पर्यटकहरूलाई अपेक्षित लाभ पुर्याउन सकेका छैनन्।
मेची राजमार्गमा रहेको सूचना केन्द्र र चमेना गृहको निर्माण कार्य २०७२ सालमा सुरु भई २०७६ सालमा सम्पन्न भएको थियो। यो परियोजनामा फिदिम नगरपालिकाले ३० लाख, मेची पर्यटन विकास बोर्डले ८ लाख, र संघीय सरकारले १ करोड १० लाखको लगानी गरेको थियो। चमेना ग़ृह आजको कन्ट्रक्सन प्रा.ली. फिदिमले जिम्मा ल्याएको थियो। तर, अहिले ती संरचनाहरू खाली रहनु, राज्यको ठूलो लगानी व्यर्थ जानुजस्तै भएको स्थानीय बासिन्दाहरुको भनाइ छ।
पर्यटन विकासको ठूलो सम्भावना, तर राज्यको बेवास्ता
फिदिम नगरपालिका-८ र फाल्गुनन्द गाउँपालिका-४ को सिमानामा रहेको यो क्षेत्र प्राकृतिक सौन्दर्य र धार्मिक महत्त्वले भरिपूर्ण मानिन्छ। पाँचथर, ताप्लेजुङ र इलामका पर्यटकीय गतिविधिहरूलाई सहजीकरण गर्न महत्वपूर्ण मानिएको सूचना केन्द्र र चमेना गृह, सञ्चालनमा नआउँदा क्षेत्रको पर्यटन विकासमा अवरोध भएको स्थानीयले बताए।
“राज्यको यत्रो लगानीको उपयोग हुन सकेको छैन, स्थानीय सरकारको बेवास्ताले गर्दा यो भवनहरू खेर गएका छन्,” फिदिम नगरपालिका वडा नं. ८ का अध्यक्ष सोम बहादुर गुरुङले बताए।
१६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको समाधि स्थलमा जाने भक्तजन र पर्यटकका लागि चमेना गृहले ठूलो सुविधा पुर्याउने अपेक्षा गरिएको थियो। तर, अहिले यो संरचना प्रयोगविहीन अवस्थामा रहँदा स्थानीय बासिन्दाहरू निराश भएका छन्। “दुईवटा स्थानीय सरकार परिवर्तन भइसक्दा पनि कुनै चासो नदिएकोमा हामीले सरकारसँग गम्भीरता चाहेका छौं,” स्थानीय सन्तविर राईले बताए।
पर्यटन व्यवसायमा प्रत्यक्ष असर, व्यवसायीहरू चिन्तित
ताप्लेजुङको पाथीभरा, कञ्चनजंघा बेस क्याम्प, र पाँचथरको तिम्बू पोखरीसम्म पुग्न आउने पर्यटकलाई सेवा दिनका लागि सूचना केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको थियो। जोम्सा होटलका सञ्चालक टासी शेर्पाले भने, “चमेना गृह र सूचना केन्द्र सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकलाई सुविधाजनक सेवा प्राप्त हुनेछ, जसले स्थानीय व्यवसायलाई बल पुर्याउँछ।”
पर्यटकीय मार्गहरूको सूचना र आवश्यक सेवाहरू अभावमा पर्यटकले कठिनाइ झेल्नु परिरहेको बताइएको छ। “यस्तो ठाउँमा राज्यको लगानी सदुपयोग गर्न सके पर्यटन व्यवसायमा ठूलै फड्को मार्न सकिन्छ,” शेर्पाले थपे।
पैदल मार्गको परिकल्पना, कार्यान्वयनमा ढिलासुस्ती
फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपानेले पैदलमार्गको परिकल्पना रहेको बताए। यो मार्गले भारतको सिक्किम र पश्चिम बंगालसम्म जोडिने सम्भावना रहेको छ। न्यौपानेले भने, “सुकेपोखरी हुँदै फालेलुङसम्म पुग्ने पैदलमार्गले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्नेछ।”
साथै, यस मार्गले वन्यजन्तु संरक्षणमा समेत ठूलो भूमिका खेल्ने देखिएको छ। रेड पाण्डा र चौँरी गाई लगायतका दुर्लभ वन्यजन्तुहरू पाइने यस क्षेत्रलाई पर्यटन प्रवर्द्धनसँगै संरक्षणको दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ।
पौवा भञ्ज्याङ्: नयाँ गन्तव्यको उचाइ
साधुटार क्षेत्र हालसालै फिल्म, म्युजिक भिडियो र टिकटक निर्माणका लागि लोकप्रिय गन्तव्य बनेको छ। पौवा भञ्ज्याङ् क्षेत्रबाट सगरमाथा, कुम्भकर्ण हिमाल, र कञ्चनजंघा हिमालको शानदार दृश्य देख्न सकिन्छ, जसले पर्यटकहरूलाई आकर्षित गरिरहेको छ। ३ हजार १ सय १७ मिटर उचाइमा रहेको यो क्षेत्र पर्यटकीय हिसाबले अझै धेरै सम्भावनायुक्त रहेको स्थानीय तेजु तामाङले बताए।
तस्विर-