पाँचथर ।
फिदिम नगरपालिका- १२ का आर्थिक विपन्न भक्तबहादुर तावा दम्पतीले नयाँ घर पाएका छन्।
आइतबार फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्ले र उपप्रमुख राधाकृष्ण न्यौपानेको उपस्थितिमा घर हस्तान्तरण गरिएको हो। यो घर फिदिम नगरपालिकाको सहयोग र स्थानीय जनश्रमदानबाट निर्माण गरिएको हो। तावा दम्पती लामो समयदेखि जिर्ण अवस्थाको घरमा बस्दै आएका थिए, जुन भूकम्पले भत्काएको थियो। नयाँ घर पाएपछि उनीहरू अत्यन्तै खुशी भएका छन्।
फिदिम नगरपालिकाका प्रमुख काफ्लेले नगरभित्र कुनै पनि नागरिक घरवारविहीन नहुन भन्ने उद्देश्यले जिर्ण अवस्थामा रहेका आर्थिक विपन्न नागरिकहरूलाई घर बनाइदिएको बताए। अहिलेसम्म नगरभित्र ४ सय भन्दा बढी घरहरू निर्माण गरेर हस्तान्तरण गरिएको छ। भक्तबहादुर तावाको नयाँ घर निर्माणका लागि स्थानीय पुन्य प्रसाद दुलालको अगुवाइमा ३ लाख रुपैयाँ खर्च भएको थियो, जसमा स्थानीयले जनश्रमदान गरेका थिए।
घर हस्तान्तरण कार्यक्रममा तावा दम्पतीलाई लत्ताकपडा र खाद्यसामग्री पनि प्रदान गरिएको थियो। स्थानीय सरकार आम नागरिकको अभिभावकको रूपमा उभिएकोमा पुन्य प्रसाद दुलालले खुशी व्यक्त गरे।