फालेलुङ,पाँचथर।

फालेलुङ गाउँपालिका-६ ओगेम्वा निवासी सोमकुमारी राईलाई स्व. हरिहरदेप पन्त नवौं स्मृति लघु उद्यमशील पुरस्कार प्रदान गरिएको छ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड पाँचथर शाखाले शुक्रबार सेमिचोङ भवनको हलमा आयोजित स्मृति दिवस समारोहमा सोमकुमारीलाई नगद ५० हजार र सम्मान-पत्रसहित पुरस्कृत गरेको हो।

राईले २०६६ सालमा निर्धन उत्थान संस्थाबाट पहिलोपटक भैंसी पालनको लागि २०हजार कर्जा लिएर आफ्नो उद्यमशील यात्रा सुरु गरेकी थिइन्। उनले भैंसीको दुग्ध, घ्यू, र छुर्पी उत्पादन गरी राम्रो आम्दानी गर्ने योजना बनाएकी थिइन्। तर, कोभिड-१९ महामारीले गर्दा उनको योजना सफल हुन सकेन। महामारीले ल्याएको आर्थिक संकटको सामना गर्दै उनले व्यवसायको दिशा परिवर्तन गर्ने निर्णय गरिन् र बाख्रा पालनतर्फ लागिन्। यसका लागि उनले पुनः निर्धन उत्थान संस्थाबाट ४ लाख कर्जा लिइन्। हाल, बाख्रा पालनबाट उनी मासिक ७० हजारभन्दा बढी आम्दानी गरिरहेकी छिन् र आफ्नो परिवारको आर्थिक स्थितिलाई मजबुत बनाएकी छिन्।

कोशी प्रदेशभरका लघु उद्यमीहरूको समृद्धिमा आधारित सफलताको कथा मार्फत मूल्यांकन गर्दै सोमकुमारी राईलाई यो पुरस्कार प्रदान गरिएको हो। शाखा प्रमुख याम बहादुर राईले पुरस्कारले राईको संघर्ष, समर्पण र सफलताको कदर गरेको बताए।

उक्त कार्यक्रममा फालेलुङ-५ निवासी हर्क माया तामाङलाई ग्रामीण कर्जा विमा क्षतिपूर्ति स्वरूप ३० हजार प्रदान गरिएको थियो। समारोहमा फालेलुङ गाउँपालिकाका उपाध्यक्ष प्रमुख अतिथि थिए। उनले पुरस्कार वितरण गर्दै सोमकुमारीको यो सम्मानले सिङ्गो फालेलुङको गौरव बढाएको बताए। साथै, कार्यक्रममा ‘समृद्धिको मार्गमा २०८१’ नामक पुस्तक विमोचन गरियो, जसमा निर्धन उत्थान लघुवित्त संस्थाका १८५ शाखाका उत्कृष्ट ग्राहकहरूको व्यवसायिक सफलताको कथा समेटिएको छ।

समारोहमा वडाध्यक्ष अमर वीर राई, रामतारा बोडिङ स्कुलका संस्थापक खगेन्द्र याङ्मा, समाजसेवी तारावती राई, सिंह बाहिनी माविका प्रधानाध्यापक सुक बहादुर लिम्बू लगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन वरिष्ठ सहायक ओजस्पी राईले गरेका थिए भने सिर्जनशील महिला समूह संस्थाकी अध्यक्ष बिन्द्र कुमारी राईले कार्यक्रमको अध्यक्षता गरिन् ।

तस्विरहरु—

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय