पाँंचथर।

पाँचथरको हिलिहाङ गाउँपालिका-१ स्थित काबेली ‘ए’ जलविद्युत आयोजनामा मंगलबार बिहान भएको एक दुःखद दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
उक्त आयोजनामा कार्यरत मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिका-११, सलकपुरका २६ वर्षीय उद्धव ढकाल निरीक्षणको क्रममा घाइते भई ज्यान गुमाएका छन्।

मंगलबार बिहान करिब ९:३० बजे उद्धव ढकाल आफ्नो मोटरसाइकलमा जलविद्युत प्रोजेक्ट साइडको कच्ची बाटो हुँदै निरीक्षणमा थिए। सोही क्रममा अचानक माथिबाट खसेको ढुंगाले उनको टाउकोमा लाग्दा गम्भीर घाइते भएका थिए। मोटरसाइकलको पछाडि सवार काठमाडौँ, कागेश्वरी मनोहरा नगरपालिका-९ निवासी ५७ वर्षीय तुलसी बहादुर खड्का भने सामान्य अवस्थामा छन्।

घटनापछि इलाका प्रहरी कार्यालय अमरपुर पाँचथरबाट खटिएको प्रहरी टोलीले उद्धव ढकाललाई उद्धार गरी स्थानीय स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गराएको थियो। थप उपचारका लागि जिल्ला अस्पताल पाँचथरमा पुर्याइएपछि, डाक्टरले उनलाई बिहान ११:५० बजे मृत घोषित गरेका छन्। मृतकको शव हाल जिल्ला अस्पताल पाँचथरको शवगृहमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारीले जनाएको छ।

यो घटनास्थल इलाका प्रहरी कार्यालय अमरपुरबाट करिब १३ किलोमिटर उत्तरमा पर्ने भएकाले उद्धार कार्यमा केही समय लागेको थियो। घटनाले काबेली ‘ए’ जलविद्युत आयोजनामा काम गर्ने मजदुरहरूको सुरक्षामा प्रश्न उठाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय