
पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. २ स्थित सिरूपा क्षेत्रमा काबेली खोलाको पानीमा एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ।
मृतकको पहिचान हालसम्म हुन सकेको छैन। शव अनुमानित उमेर ५०/५२ वर्षको भएको अनुमान गरिएको छ।
शव फेला परेको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी काबेली र जिल्ला प्रहरी कार्यालय पाँचथरको अनुसन्धान टोली तत्काल घटनास्थलमा पुगेको थियो। प्रहरी निरीक्षक रुपेश तामाङको कमाण्डमा खटिएको टोलीले घटनास्थलको जाँच प्रकृया पूरा गरी शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा ल्याइएको छ।

मृतकको हुलिया अनुसार उनको वर्ण गहुँगोरो, उचाई ५ फिट ३ इन्च, कपाल फुलेको र छोटो, अगाडीको माथिल्लो भागको दाँत देखिने, निधारको बाँया भागमा र टाउकोमा गहिरो चोट रहेको र चिउँडोको मुनि पनि चोट लागेको छ। उनले खरानी रंगको भेष्ट र अण्डरवियर लगाएका थिए र पहाडे मूलको जस्तो देखिन्छ।
हालसम्म मृतकको नाम, थर, वा स्थायी वतन खुल्न सकेको छैन। घटनास्थल पाँचथर जिल्ला प्रहरी कार्यालयबाट करिब ६५ कि.मि. उत्तरमा पर्दछ। मृतकको आफन्तको खोजी कार्य भइरहेको छ भने यस घटनामा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।