पाँचथर । फालेलुङ गाउँपालिका–७ पापुन्देनस्थित पापुन्देन आधारभूत विद्यालयमा पुस्तकालय भवन निर्माण गरिएको छ। पाँचथर समाजसेवा यूकेको आर्थिक सहयोगमा निर्माण गरिएको पुस्तकालय भवन शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो।
पाँचथर समाजसेवा यूकेका निवर्तमान अध्यक्ष शान्ति लिम्बूले पुस्तकालय भवनको उद्घाटन गर्नुभएको पुस्तकालय निर्माण संयोजक मनिष आङ्बोले जानकारी दिनुभयो।
विद्यालयका विद्यार्थीहरूको अध्ययन स्तर अभिवृद्धि गर्नुका साथै गाउँघरका विद्यालयबाट विद्यार्थी सहरतर्फ पलायन हुने प्रवृत्ति रोक्ने उद्देश्यले पुस्तकालय निर्माण गरिएको हो। पछिल्लो समय ग्रामीण विद्यालयहरूमा विद्यार्थी संख्या घट्दै जानुका साथै शिक्षाको गुणस्तरमा समेत गिरावट आएको सन्दर्भमा पुस्तकालयले सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको प्रमुख अतिथि लिम्बूले बताउनुभयो।

उक्त पुस्तकालय एक कोठे पक्की भवनका रूपमा निर्माण गरिएको छ भने चर्पी तथा बाथरूमको समेत व्यवस्था गरिएको छ। पुस्तकालयमा ५ सयभन्दा बढी पुस्तकहरू राखिएका छन्। करिब १५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको जनाइएको छ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि शान्ति लिम्बूसहित पाँचथर बहुमुखी क्याम्पसका उपप्राध्यापक मधुराज केरुङ, फालेलुङ–७ का वडा अध्यक्ष टेकबहादुर केरुङ तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
०%
०%
०%
०%
०%
प्रतिक्रिया






