पाँचथर। फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा निर्माण सम्पन्न भएको पालिका स्तरीय पाँच शय्याको आधारभूत अस्पताल उद्घाटनको तयारीमा पुगेको छ। ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले निर्माण थालिएको अस्पताल भवन सम्पन्न भएसँगै सेवा भने उद्घाटनअघि नै सञ्चालनमा ल्याइएको छ।
संघीय सरकारको नीति अनुसार २०७७ मंसिर १५ गते सातै प्रदेशमा एकैपटक शिलान्यास भएका ३९६ आधारभूत अस्पतालमध्ये फाल्गुनन्दको अस्पताल पनि एक हो। तत्कालीन प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वो ‘मौसम’ले अस्पताल भवनको शिलान्यास गरेका थिए।
घुर्बिसे पञ्चमी नजिकै स्थानीयले निःशुल्क उपलब्ध गराएको करिब नौ रोपनी जग्गामा निर्माण भएको डेढ तलाको अस्पताल भवन जयमाता जीआरडी जेभी, काठमाडौंले ६ करोड ४६ लाख ३२ हजार ३६ रुपैयाँ २० पैसाको लागतमा निर्माण गरेको हो। सम्झौताअनुसार १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि विभिन्न कारणले ढिलाइ भएको थियो। हाल भवन निर्माण पूरा भइसकेको र आगामी वैशाखभित्र उद्घाटन गर्ने तयारी भइरहेको जनाइएको छ।

अस्पतालमा इमरजेन्सी, प्रसूति सेवा, अपरेशन थिएटर, एक्स–रे, इसिजी, युएसजी, फार्मेसी, ल्याब, माइनर अपरेशन, पार्किङ, सेप्टिक ट्याङ्क र सोकपिटलगायतका पूर्वाधार समावेश छन्। फाल्गुनन्द गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्वापोका अनुसार अस्पतालमा एक जना मेडिकल अफिसरसहित १८ जना स्वास्थ्यकर्मी रहने व्यवस्था गरिएको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको एनएचसीसीपीले निरीक्षण तथा अनुगमन गरेको र गाउँपालिकाले निर्माण तथा प्राविधिक कार्यको नियमित निगरानी गरेको जनाएको छ।
हाल अस्पतालबाट आयुर्वेद सेवासहित एकीकृत स्वास्थ्य सेवा सञ्चालन भइरहेको छ। गाउँपालिकाभित्र पाँच वटा स्वास्थ्य चौकी, एउटा आधारभूत अस्पताल, एउटा सामुदायिक स्वास्थ्य इकाइ र आयुर्वेद सेवा उपलब्ध छन्। अस्पतालमा मेडिकल अफिसर डा. उपेन्द्र पोख्रेलसहित १८ जनाको दरबन्दी रहनेछ। जसमा एक डाक्टर, एक एचए, दुई अहेव, दुई अनमी, एक करार ल्याब असिस्टेन्ट, एक कविराज तथा तीन कार्यालय सहयोगी रहेका छन्। यहाँ ओपिडी, आकस्मिक, बर्थिङ, ल्याब तथा भिडियो एक्स–रे सेवा सञ्चालनमा छन्।
देशभरका धेरै स्थानीय तहमा अस्पताल भवन निर्माण सम्पन्न भएर पनि सेवा सञ्चालन हुन नसकेको अवस्था रहेको छ। तर फाल्गुनन्दको अस्पतालले भने उद्घाटनअघि नै डाक्टरसहित सेवा सुचारु गरेर उदाहरणीय काम गरेको गाउँपालिका उपाध्यक्ष ठाकुरसिंह नेम्वाङले बताए।
गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बेका अनुसार अस्पताल पूर्ण रूपमा सञ्चालनमा आएपछि फाल्गुनन्द गाउँपालिकासँगै इलामको फाकफोकथुम गाउँपालिका र पाँचथरकै मिक्लाजुङ गाउँपालिकाका स्थानीयवासी समेत लाभान्वित हुनेछन्। सुविधा सम्पन्न अस्पतालको अभावमा हालसम्म फाल्गुनन्दका बिरामीहरू उपचारका लागि फिदिम, इलाम र झापासम्म पुग्न बाध्य छन्।
अस्पताल सञ्चालनमा आएपछि स्थानीय नागरिकले आफ्नै क्षेत्रमा सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ। स्थानीय तहमा प्रभावकारी स्वास्थ्य पहुँच पुर्याउने सरकारको लक्ष्य अब फाल्गुनन्दमा चाँडै नै सार्थक हुने देखिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
०%
०%
०%
१००%
०%
प्रतिक्रिया






