१) राष्ट्रिय याक दिवस वैशाख ७ गते
नेपाल सरकारले हिमाली समुदायको पेशा याक तथा चौरीको संरक्षणका लागि राष्ट्रियव्यापी रूपमा याक दिवस मनाउने निर्णय बि.सं. २०८१ भदौ ३० गते बसेको मन्त्रिपरिषद्को बैठकमा वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसको रूपमा मनाउने पारित भयो। याकको आनुवंशिक शुद्धता कायम गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत बि.सं. २०३० वैशाख ७ गते सोलुखुम्बु जिल्लाको स्याङबोचेमा याक आनुवंशिक स्रोत केन्द्र स्थापना गरिएको दिनलाई लोपोन्मुख अवस्थामा रहेको याक चौरीको संरक्षणका लागि देशव्यापी रूपमा याक दिवस मनाउने निर्णय भएको हो।

Nepalitheme

२) प्रथम राष्ट्रिय याक दिवस
“याक चौरी प्रवर्द्धनः हिमाली जीवन, संस्कृति र वातावरण संरक्षण” भन्ने मूल नाराका साथ प्रथम राष्ट्रिय याक दिवस काठमाडौँमा मनाइएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय, अन्तर्राष्ट्रिय एकीकृत विकास केन्द्र (इसिमोड) र याक तथा चौरी कृषक महासंघ नेपालको आयोजनामा देशभरिका याक चौरी कृषकहरूको उपस्थितिमा कार्यक्रम भएको छ। नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमले हिमाली समुदायका लागि एक आशाको दियो बालेको छ।

ऊनको स्वीटर टेजर

३) याक तथा चौरी कृषक महासंघ नेपालको स्थापना
नेपाल सरकारको पशुपन्छी विकास मन्त्रालय र अन्तर्राष्ट्रिय एकीकृत विकास केन्द्र (इसिमोड) को प्रयासमा नेपालभरिका याक तथा चौरी कृषकहरूको राष्ट्रिय सञ्जालको रूपमा याक तथा चौरी कृषक महासंघ नेपाल स्थापना भएको छ। २९ वटा जिल्लामा क्रियाशील याक तथा चौरी कृषकहरूको संघ/संस्था महासंघको सदस्य संस्था हुने प्रावधान छ।

४) नेपालमा याक चौरीको वर्तमान अवस्था
लोपोन्मुख अवस्थामा रहेको हिमाली क्षेत्रको मणिको रूपमा मानिने याक चौरी पछिल्लो दशकमा तीव्र गतिमा लोप हुने क्रममा छन्। नेपाल सरकार तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालमा ५३ हजार १ सय ९५ वटा याक चौरी रहेका छन्। यो तथ्यांकअनुसार २९ वटा जिल्ला मध्ये सबैभन्दा बढी डोल्पा जिल्लामा १० हजार ५ सय ५० वटा र सबैभन्दा कम रुकुम पूर्व जिल्लामा १५ वटा मात्र रहेका छन्। साथै १९ जिल्लामा १ हजारभन्दा कम संख्यामा याक चौरी अस्तित्वमा रहेको देखिन्छ। नेपाल सरकारको पशुपन्छी विकास मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को तथ्यांक हेर्ने हो भने अपत्यारिलो ढंगले याक चौरीको सङ्ख्यामा घटबढ देखिन्छ।

५) नेपालमा याक चौरीको महत्त्व र अवसर
याक तथा चौरीपालन एउटा पशुपालनको अतिरिक्त बहुआयामिक दृष्टिकोणबाट हेर्न सकिन्छ। मुख्य रूपमा यो हिमाली समुदायको जीवनको सारथी हो। साथै हिमाली क्षेत्रको जैविक विविधताको संरक्षण, हिमाली समुदायको संस्कार-संस्कृतिको रक्षा, उच्च पर्वतीय क्षेत्रमा पाइने जडीबुटी मिश्रित दुग्धजन्य वस्तु, पर्यापर्यटन प्रवर्द्धन लगायत सिंगो नेपालको पहिचानसँग जोडिएर याक चौरीको महत्त्वलाई हेर्न सकिन्छ। नेपालको हिमाली क्षेत्रको समृद्धिको आधारको रूपमा याक चौरी व्यवसायलाई विस्तार गरी पारिस्थितिक पद्धतिको संरक्षण, वैदेशिक मुद्रा आर्जन, पर्यटन प्रवर्द्धनसहित हजारौं युवालाई रोजगारीको अवसर सिर्जना गर्न सकिने सम्भावना रहेको छ।

६) नेपाल सरकारले याक चौरीको संरक्षणमा तत्काल चाल्नु पर्ने कदम
सदियौँदेखि राज्यको नजरमा नपरेका याक चौरी कृषकहरू बल्ल सरकारले देख्न थालेको छ। हिउँदको हिमपात, बर्खामासको झरी, विषम परिस्थितिलाई सामना गर्दै दुरदराजका कृषकसम्म पुग्न सरकारले कृषक केन्द्रित प्रोत्साहनमूलक कार्यक्रम ल्याई हाल यस पेशामा आवद्ध कृषकलाई यो पेशामा टिकाइराख्न पहिलो प्राथमिकता दिनु पर्ने देखिन्छ। नेपाल सरकारको आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को तथ्यांक हेर्दा विश्वसनीय याक चौरी तथ्यांक नरहेको पुष्टि हुन्छ। त्यसैले कृषि तथा पशुपन्छी मन्त्रालयको सर्कुलर र याक तथा चौरी कृषक महासंघ नेपालको संलग्नतामा स्थानीय सरकारको पशु सेवा शाखासँग सहकार्य गरी तत्काल कृषकको विवरणसहित याक चौरीको वास्तविक तथ्यांक सङ्कलन गर्नु आवश्यक देखिन्छ।

७) याक चौरी सङ्ख्याका आधारमा भत्ता, सरकारको पहिलो प्राथमिकता
नेपालभरिका याक तथा चौरीको वास्तविक कृषक र तथ्यांक सङ्कलनपश्चात नेपाल सरकार र सरोकारवालाले हाल यस पेशामा संलग्न कृषकलाई यस पेशामा टिकाइराख्न याक चौरी किसान परिचयपत्र वितरण गरी उनीहरूले पालेका पशुधन सङ्ख्याको आधारमा मासिक भत्ता वितरण गर्ने व्यवस्था गर्नु पर्ने देखिन्छ। यसरी याक चौरी सङ्ख्याको आधारमा मासिक भत्ता वितरणको व्यवस्था मिलाउन सकिए नयाँ याक चौरी कृषकहरू पनि यस पेशामा आवद्ध हुने देखिन्छ। कृषकका अन्य समस्यालाई आवधिक र दीर्घकालीन योजनामा क्रमिक रूपमा सुधार गर्दै जाने र तत्काल सबै निकायले चासोका साथ याक चौरी सङ्ख्याका आधारमा भत्ता, सरकारको पहिलो प्राथमिकतामा पर्न प्रयास गर्नु आवश्यक देखिन्छ। र आगामी वर्षहरूमा राष्ट्रिय याक दिवस देशभरिका याक र चौरीका गोठहरूमा चौरीको घिउको बत्ती बालेर खुसीयालीका साथ (ह्याप्पी याक डे) भन्दै मनाउनेछन्।

८) प्रथम राष्ट्रिय याक दिवसः हिमाली समुदायको लागि एक महत्वपूर्ण सन्देश
विगत लामो समयदेखि हिन्दकुश हिमालय पर्वतमा याक चौरीको लोप हुँदा, सिंगो हिमालको अस्तित्व सङ्कटमा पर्ने निचोडसँगै विभिन्न देशसहित नेपालमा याक चौरी कृषक महासंघ स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने अन्तर्राष्ट्रिय एकीकृत विकास केन्द्र (इसिमोड) र नेपालमा स्थापना भएका याक तथा चौरी कृषक महासंघ नेपालको प्रयास तथा नेपाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा नेपालमा पहिलो पटक राष्ट्रिय याक दिवस मनाइँदै यसले सिंगो हिमाली समुदायका लागि महत्वपूर्ण सन्देश प्रवाह गरेको छ।


प्रथम राष्ट्रिय याक दिवसको सबैमा शुभकामना!

नुरु शेर्पा
अध्यक्ष, तदर्थ समिति, याक तथा चौरी कृषक महासंघ नेपाल
संस्थापक अध्यक्ष, याक तथा चौरी व्यवसायी संघ नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय