
पाँचथर। पाँचथरमा आइतबार छुट्टाछुट्टै तीन स्थानमा भएका सवारी दुर्घटनामा ९ जना घाइते भएका छन्। फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा भएका दुर्घटनामा परेका सबै घाइतेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बिनयलाल साहले जानकारी दिएको छ।
पहिलो दुर्घटना फिदिम नगरपालिका–३ को कोइचोकस्थित मेची राजमार्गमा भएको हो। दिउँसो साढे १२ बजे बिर्तामोडबाट फिदिमतर्फ जाँदै गरेको मे १ ख १८५० नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा इलाम देउमाई नगरपालिका–६ का ४२ वर्षीय मनकुमार श्रेष्ठले चलाएको मे १ ह ३९४३ नम्बरको अटो आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
दुर्घटनामा अटो चालक श्रेष्ठसहित पाँच जना घाइते भएका थिए। घाइतेमध्ये श्रेष्ठको बाँया हातमा चोट लागेको छ भने ५२ वर्षीया शान्ति श्रेष्ठको दाहिने हातको कुइनामा चोट लागेको छ। त्यस्तै ३६ वर्षीया मधु श्रेष्ठ, ३७ वर्षीया सरस्वती श्रेष्ठ र ३५ वर्षीया मुना श्रेष्ठ सामान्य घाइते भएका छन्। सबैको गणेशमान सिंह सामुदायिक अस्पताल फिदिममा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, दिउँसो ३:२० बजे फिदिम नगरपालिका–१ को साप्राङमा फिदिम–प्राङबुङ सडक खण्डमा बोलेरो पिकअप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। फालेलुङ गाउँपालिका–५ का ३१ वर्षीय नेत्रप्रसाद मगरले चलाएको प्र.१–०१–००१ च.७२७५ नम्बरको बोलेरोको ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएर गाडी पल्टिएको थियो।
उक्त दुर्घटनामा फालेलुङ–६ की ३० वर्षीया दीपा राईको दाहिने हातको कुहिनामा चोट लागेको छ भने फालेलुङ–५ का ५४ वर्षीय बमबहादुर राईको टाउको, घाँटी र छाती दुखेको छ। दुबै जनाको अवस्था सामान्य रहेको र उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीको भनाइ छ।
तेस्रो दुर्घटना फाल्गुनन्द गाउँपालिका–१ स्थित श्री सिद्धदेवी माविको भित्री सडक खण्डमा भएको हो। फिदिमबाट नवमीडाँडा जाँदै गरेका फिदिम नगरपालिका–२ का अन्दाजी १८ वर्षीय प्रपोज नेम्वाङले चलाएको बा ८९ प २२६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।
मोटरसाइकल सिक्दै गरेका नेम्वाङको शरीरका विभिन्न भागमा चोट लागेको छ। उनलाई जिल्ला अस्पताल फिदिममा उपचारपछि बेलुकी ५:२५ बजे डिस्चार्ज गरिएको छ।