पाँचथर | पूर्व स्थानीय विकास मन्त्री तथा नेपाली कांग्रेसका नेता स्व. पूर्ण कुमार शेर्माको शालिक अनावरण गरिएको छ। शेर्माको पाँचौं स्मृति दिवसको अवसर पारेर पाँचथरको मिक्लाजुङ–२, सप्तमी बजारमा परिवारद्वारा निर्मित शालिक प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व गृहमन्त्री कृष्ण प्रसाद सिटौलाले अनावरण गरेका हुन्।
कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस सहमहामन्त्री भिष्मराज आङदेम्बे, झापा जिल्ला कांग्रेस सभापति देउमान थेवे, पाँचथर कांग्रेस सभापति रूपनारायण जवेगु, पूर्व सभापति नरेन्द्र कुमार केरुङ, शेर्माकी धर्मपत्नी जनी माया थापा मगर, प्रदेशसभा सदस्य मैया श्रेष्ठ लावतीलगायत प्रदेश, जिल्ला, पालिका र वडा कमिटीका पदाधिकारीहरू, स्थानीयवासी, संघसंस्थाका प्रतिनिधि तथा भातृ संगठनका सदस्यहरूको उपस्थिति रहेको थियो।
स्मृति सभासहितको कार्यक्रममा शेर्माको जीवनी, त्याग तथा समाजमा पुर्याएको योगदानको चर्चा गरिएको थियो। तत्कालीन समयमा शेर्माले कास्की र चितवनपछि पाँचथरलाई सडक सञ्जालमा तेस्रो स्थानमा अगाडि बढाएको, जिल्लाका अधिकांश स्थानमा झोलुङ्गे पुल निर्माण गराएको तथा सप्तमी बजारमा देशकै पहिलो पटक हावाबाट विद्युत् निकाल्ने कार्य प्रारम्भ गराएको स्मरण गरिएको थियो।

विकासको परिकल्पनाकारका रूपमा चिनिएका शेर्माले गरेका महत्वपूर्ण कार्यहरूले पाँचथरलाई सहज बनाएको र उनले कल्पना गरेको भेडेटार–रवि–राँके सडक तथा तमोर करिडरको सपना अहिले पूरा हुने क्रममा रहेको वक्ताहरूले बताएका थिए। सरल, सादगीपूर्ण र इमानदार नेताका रूपमा चिनिएका शेर्माको निधनले पाँचथरका नागरिकहरूमा सधैं अभाव महसुस हुने धारणा व्यक्त गरिएको थियो।
शालिक अनावरण कार्यक्रम नेपाली कांग्रेस मिक्लाजुङ–२ वडा कार्यसमितिको आयोजनामा सम्पन्न भएको थियो। वडा सभापति तथा वडाध्यक्ष महेन्द्र प्रकाश थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस मिक्लाजुङ गाउँपालिका सभापति सन्तोष शेर्माले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रम सञ्चालक दीपक बोहोराले कार्यक्रमबारे जानकारी दिएका थिए।
को थिए स्व. पूर्ण कुमार शेर्मा?
वि.सं. २००० असोज १३ गते पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका–२, साविक सराङडाँडामा जन्मिएका पूर्ण कुमार शेर्मा समाजसेवा तथा विकासमा जीवन समर्पित गर्ने व्यक्तित्व थिए। उनका पिता राम प्रसाद शेर्मा र माता मोतिहाङ आङदेम्बे हुन्।
वि.सं. २०२१ मा तत्कालीन निगाले गाउँ पञ्चायतका प्रधानपञ्च बनेका उनले राजा वीरेन्द्रबाट विभिन्न पदकद्वारा विभूषित हुने अवसर प्राप्त गरेका थिए। नेपाली कांग्रेसमा आबद्ध भई लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका उनले २०४२ सालको सत्याग्रह आन्दोलनमा भाग लिँदा झापाको दमकबाट पक्राउ परी चन्द्रगढी जेलसमेत भोगेका थिए।
२०५७ साल पुस १२ देखि २०६७ साउन १६ गतेसम्म नेपाली कांग्रेस पाँचथर जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका शेर्मा नेपाली कांग्रेसको नवौं र दशौं महाधिवेशनबाट दुई कार्यकालसम्म केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
२०४८ देखि २०५१ सम्म राष्ट्रिय सभा सदस्य रहेका उनी २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा पाँचथर क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए। २०६६ जेठ २ गतेदेखि २०६७ माघ २३ गतेसम्म स्थानीय विकास मन्त्रीका रूपमा कार्यरत रहे।
उनको पहलमा पाँचथर जिल्लामा झोलुङ्गे पुल, सडक, विद्युत्, शिक्षा तथा अन्य भौतिक पूर्वाधार निर्माणमा उल्लेखनीय काम भएका थिए। सप्तमी बजारमा वायु ऊर्जा परियोजना स्थापना तथा २०४८ सालमा सराङडाँडामा नर्थ नेपाल टी स्टेट नामक चिया बगान स्थापना गरिनु उनका महत्वपूर्ण उपलब्धिहरू थिए।
दुई मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि उपचाररत रहेका शेर्माको २०७६ फागुन २८ गते काठमाडौँको निदान अस्पतालमा निधन भएको थियो।
उनका परिवारमा श्रीमती जनी माया थापा मगर, छोराहरू राज कुमार शेर्मा र सन्तोष शेर्मा तथा छोरीहरू लिला, फिफा, संगिता, दुर्गा र सुनिता शेर्मा छन्।