
ताप्लेजुङ । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गर्दै आएको पहिचान पक्षधर तथा नो केवलकार पक्षधरले भोली माघ १५ गते देखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ । ६ वटा संघर्ष समितिले आज संयुक्त विज्ञप्ती जारी गर्दै चरणबद्ध आन्दोलनको घोषणा समेत गरेको छ ।
मेची हाइवे, तमोर करिडोर, साथै तेह्रथुमबाट ताप्लेजुङ प्रबेश गर्ने नाकाहरुमा यातायात बन्दको घोषणा गरिएको मुकुम्लुङ सरक्षण संयुक्त समितिका संयोजक श्री लिखिमले जानकारी दिनुभयो । केबलकार निर्माण खारेज गर्न, सैन्यकरण फिर्ता गर्नुपर्ने नियन्त्रणमा लिइएको योद्दाहरुकोे बिनासर्त रिहाई, झुटा मुद्धाहरु लगाउन बन्द गर्नुपर्ने बिज्ञप्ती मार्फत माग गरिएको छ । यस्तै मुकुम्लु प्रेमीहरुलाई गोली हान्न आदेश दिने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखले सार्बजनिक रुपमा माफी माग्नुपर्ने माग पनि गरिएको छ । यस्तै शनिबार भएको गोली प्रहारको घटनाले आन्दोलन नयाँ चरणमा प्रबेश गरेको संघर्षरत पक्षले बताएको छ । शान्तिपूर्ण प्रर्दशनका लागि भेला भएको समुहमा गोली चलाइएकाले अनिश्चितकालीन बन्द आह्वान गर्न बाध्य भएको संघर्षरत पक्षले जनाएको छ ।
ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, लगायतका ग्लोबल आइ.एम.इ बैँक बन्द गर्नुपर्ने, उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र निर्माण व्यवसायी रुद्र पौडेललाई जिल्ला प्रबेशमा रोक लगाउने, फुङलिङ नगर प्रमुख अमिर मादेनलाई जिल्ला बाहिर निषेध गर्ने, राज्य आतङक, प्रहरी दमन र केबलकार निर्माण खारेजी लगायतका बिषयमा कोषसभा गर्ने पनि विज्ञप्ती मार्फत जनाइएको छ ।
