फालेलुङ, पाँचथर ।
पाँचथर जिल्लाको उच्च क्षेत्र फालेलुङ–४ चाररातेमा आयोजना हुन लागेको ९औँ फालेलुङ चौँरी पर्यटन महोत्सव २०८३ अन्तर्गत हुने साहसिक पुरुष फुटबल प्रतियोगिता यसपटक झन् आकर्षक बन्ने भएको छ। प्रतियोगिताका विजेताले चौँरीको दुग्धबाट उत्पादित शुद्ध घ्यू एक मन प्राप्त गर्नेछन् भने उपविजेताले आधा मन घ्यूसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ।
२०७४ सालदेखि सुरु भएको महोत्सव यस वर्ष नवौँ संस्करणमा प्रवेश गर्दैछ। महोत्सवसँगै जोडिएको साहसिक फुटबल प्रतियोगिता भने तेस्रोपटक आयोजना हुन लागेको हो। फालेलुङ गाउँपालिकाको मुख्य आर्थिक सहयोगमा सञ्चालन हुने महोत्सवको यसपटक मुख्य आयोजना कञ्चनजङ्गा याक चिज उत्पादक समूह, फालेलुङ–४ चाररातेले गर्ने भएको छ। यसअघि आठौँ संस्करणसम्म फालेलुङ पर्यापर्यटन प्रवर्द्धन संस्थाले आयोजना गर्दै आएको थियो।
आयोजक संस्था परिवर्तन भएसँगै प्रतियोगिताको पुरस्कारलाई पनि नयाँ ढंगले प्रस्तुत गरिएको आयोजकका सचिव बलबहादुर तामाङले जानकारी दिए। समुद्री सतहबाट करिब ३४५० मिटर उचाइमा आयोजना हुने भएकाले प्रतियोगितालाई ‘साहसिक’ नाम दिइएको हो। अन्य स्थानमा नगद पुरस्कार प्रदान गरिने भए पनि यहाँ स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले घ्यू पुरस्कार राखिएको उनले बताए। प्रतियोगितामा सहभागिताका लागि टोली दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको खेल संयोजक धावासाङ्गे गुरुङले जानकारी दिए।

भारत–नेपाल सीमामा अवस्थित चारराते क्षेत्रमा आयोजना हुने यो महोत्सव विशेषगरी पर्यटन प्रवर्द्धनलाई लक्षित गरी सुरु गरिएको हो। पछिल्लो समय यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। चारराते, शिखर गुम्बा र तीनसिमाना फालोट क्षेत्रमा पर्यटक आगमन बढ्दै जाँदा फिल्म र म्युजिक भिडियो छायांकनसमेत भइरहेको छ। हालै नेपाली चलचित्र “ऊनको स्वीटर” को छायांकन पनि यही क्षेत्रमा भई चर्चामा आएको छ।
महोत्सवमा चौँरी तथा याक प्रदर्शन, चौँरीको दूधबाट उत्पादित घ्यू, छुर्पी र चिजको प्रदर्शनी तथा बिक्री–वितरण गरिनुका साथै याक चढ्ने अवसरसमेत उपलब्ध गराइनेछ। यस क्षेत्रबाट हिमाली दृश्यावलोकन र लालीगुराँसको सौन्दर्य अवलोकन गर्न सकिने भएकाले विशेष आकर्षण रहेको छ।
आयोजकका अनुसार महोत्सव अवधिभर भारत, चीन, भुटान लगायतका देशबाट समेत गरी ६ हजारभन्दा बढी पर्यटक भित्रिने अपेक्षा गरिएको छ।







