विराटनगर । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक तर्फको मतगणना कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म देशभर कुल ८० लाख १० हजार ६ सय ५० सदर मत गणना भइसकेको छ। अहिलेसम्मको प्राप्त नतिजाले परम्परागत राजनीतिक शक्ति सन्तुलनमा ठूलो फेरबदल आउने संकेत गरेको छ।

Pasupati Ayurvedic
Nepalitheme

यस निर्वाचनको जारी मत परिणाम अनुसार दलीय शक्ति सन्तुलनमा वृहद फेरबदल हुने देखिएको छ । कोशी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ६ लाख ४३ हजार ७ सय ४ मत प्राप्त गरी पहिलो दलको हैसियतमा पुगेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २ लाख ११ हजार ३ सय ७३ मत प्राप्त गरेको छ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा ५ लाख भन्दा बढी मत ल्याएर कोशी प्रदेशमा पहिलो शक्ति बनेको नेकपा (एमाले) यस पटक भने तेस्रो स्थानमा खुम्चिएको छ। एमालेले हालसम्म २ लाख १० हजार ६ सय ३५ मत प्राप्त गरेको छ। एमालेका लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा नयाँ उदाएको ‘श्रम संस्कृति पार्टी’ देखिएको छ। श्रम संस्कृति पार्टीले २ लाख ४ हजार ६ सय २६ मत प्राप्त गर्दै एमालेलाई चौथो स्थानमा धकेल्न कडा टक्कर दिइरहेको छ।

ऊनको स्वीटर टेजर

उल्लेखनीय कुरा के छ भने, श्रम संस्कृति पार्टी गठन भएको मात्र चार महिना भएको छ। यति छोटो अवधिमा कोशी प्रदेशमा यो पार्टीले प्राप्त गरेको नतिजालाई निकै महत्वका साथ हेरिएको छ । अर्कोतर्फ, अघिल्लो निर्वाचनमा चौथो शक्ति रहेको तत्कालीन नेकपा माओवादी केन्द्र (हालको नेपाली कम्युनिष्ट पार्टी) भने ७३ हजार ७ सय ८६ मतका साथ पाँचौ स्थानमा पुगेको छ। यसअघि राप्रपा तेस्रो र नेकपा चौथो स्थानमा थिए ।

देशभरको समग्र अवस्थालाई हेर्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो अग्रता लिइरहेको छ। रास्वपाले कुल ३८ लाख ५७ हजार ८२६ मतका साथ पहिलो स्थान सुरक्षित गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १३ लाख ७ हजार ५६१ मत पाएको छ भने नेकपा (एमाले) ११ लाख ७ हजार ३ सय ४५ मतका साथ तेस्रो स्थानमा छ ।

राष्ट्रिय स्तरमा पनि नयाँ दलको प्रभाव स्पष्ट देखिएको छ। नेपाली कम्युनिष्ट पार्टी (तारा चिह्न) ५ लाख ६९ हजार २ सय २ मतका साथ चौथो स्थानमा रहँदा, श्रम संस्कृति पार्टीले देशभर २ लाख ७५ हजार ३ सय ५३ मत प्राप्त गर्दै स्थापित दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पछि पारेको छ। राप्रपाले हालसम्म २ लाख ६९ हजार १ सय ६ मत प्राप्त गरेको छ। मतगणना अझै जारी रहेकाले अन्तिम नतिजासम्म यी अंकहरूमा थप परिवर्तन हुन सक्ने देखिन्छ। – Hamromat

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय