
पाँचथर ।
रातो टी–शर्ट लगाएर कहिले सडकमा, कहिले कृषकहरुसँग खेतबारीमा पसिना बगाइरहेका युवाहरू अहिले पाँचथरमा सक्रिय देखिन्छन्। उनीहरू नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालका कार्यकर्ता हुन्। कहिले किसानसँगै धान रोपाइँ, कहिले बेसार खेतीको गोडमेल, कहिले बर्खामा पीडित परिवारलाई पाल टाँगेर आश्रय दिने काम अहिले त प्राकृति विपत्तिमा परेकालाई उद्धार गर्दै आएका यी युवाहरू अहिले भने फिदिम नगरपालिका–१, माथिल्लो गाउँकी कमला परियारको घर निर्माणमा जुटेका छन्।
४६ वर्षीया कमला परियार विगतमा सानो कटेरोमै जीवन धान्दै आएकी थिइन्। श्रीमान अर्को विवाह गरेर बेपत्ता भएपछि उनी कान्छा छोरासँगै बस्दै आएकी छन्। जेठा छोरा छुट्टै बस्छन्। खेतीपातीको ज्यालामा दिन काट्दै आएकी कमला वर्षौंदेखि बर्खामा पानी चुहिने झुप्रोमा प्लास्टिकले टालटुल गरेर दिन गुजार्दै आएकी थिइन्। अब भने वाइसीएलले उनलाई नयाँ घर बनाइदिने भएको छ।
“सिमेन्ट, बालुवा, गिटी र जस्ताले बनेको पक्की घर पाउँछु भन्ने त सपनाजस्तै लागेको छ,” कमलाले खुसी हुँदै भनिन्।

वाइसीएल पाँचथर अध्यक्ष गणेश तुम्रोकका अनुसार असोज ७ गतेसम्म घर निर्माण सकिएर कमलालाई हस्तान्तरण गरिनेछ। निर्माण कार्य पूर्णतया नि:शुल्क गरिँदै छ। यस अभियानमा जिल्ला समन्वय समिति उपप्रमुख यामकुमार आङ्बोले २० हजार रुपैयाँ सहयोग गरेका छन् भने वाइसीएल केन्द्रीय सचिव विक्रम शंखर, धनकुमार नेम्वाङ (धनेसाइला) र दावा शेर्पालगायतले निर्माण सामग्री उपलब्ध गराएका छन्।
वाइसीएलले हालै देशव्यापी रूपमा सुरु गरेको “श्रमसँग उत्पादन अभियान” अन्तर्गत पाँचथरमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ। यसअघि असार १५ मा धान दिवसका अवसरमा फिदिम–६, सिवामा रोपाइँमा सहभागिता जनाएको थियो। कुम्मायक गाउँपालिकामा गरिएको बेसार खेतीमा गोडमेल गरेको र ताम्केवा गाउँपालिका–३ मा रहेको सहिद पार्क सरसफाइ तथा एक हजारभन्दा बढी बिरुवा रोपेको समेत वाइसीएल पाँचथरले जनाएको छ।
अध्यक्ष तुम्रोकले भने, “वाइसीएल पाँचथरका युवाहरू श्रमलाई अभिमान र उत्पादनलाई जीवन मानेर अभियान चलाइरहेका छन्। पसिना बगाएरै नयाँ समाज बनाउने हाम्रो संकल्प हो। हाम्रो नारा– श्रमलाई सम्मान, उत्पादनलाई अभियान।”
घर निर्माण अभियानको शिलान्यास माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य तथा पाँचथर सह–इन्चार्ज दिनेश लावतीले गरेका थिए। कार्यक्रममा प्रदेश सदस्य ठाकुरसिंह नेम्वाङ, बिन्दु खनाल, डीपी मुखिया, परिचित नेम्वाङ, जिल्ला संयोजक विशाल रसाइली, वाइसीएल केन्द्रीय सचिव विक्रम शंखर, अशोक राई, केन्द्रीय सचिवालय सदस्य मनेश आङ्बो, पाँचथर इन्चार्ज सागर नेम्वाङ, अखिल क्रान्तिकारी प्रदेश अध्यक्ष चन्द्र माङ्मु, वाइसीएल केन्द्रीय सदस्य अनिश तामाङलगायत प्रदेश र जिल्ला तहका करिब १५ जना नेताको उपस्थिति रहेको थियो।