पाँचथर । अविरल वर्षापछि आएको बाढीले डाइभर्सन र सडक बगाएपछि अवरुद्ध बनेको फिदिम–फालौट मार्गको फेमे खोलामा नेपाली सेनाको फिदिमस्थित बीरदल गणले काठको फड्के निर्माण गरेको छ।
सेनाले मङ्गलबार फेमे खोलामा अस्थायी फड्के बनाएको हो। यससँगै पैदल यात्रुहरूलाई आवागमनमा सहजता भएको छ।
फेमे खोलामा असोज १८ गते आएको बाढीले सडक र डाइभर्सन बगाएपछि सो मार्गमा सवारीसाधनसहित पैदल आवागमन पनि ठप्प भएको थियो। पैदल यात्रुहरू रोकिएको अवस्थालाई मध्यनजर गर्दै सेनाले तत्काल काठको फड्के निर्माण गरेको बीरदल गणका प्रमुख किशोर अधिकारीले जानकारी दिनुभयो।

फेमे खोलामा बनेको पक्की पुल २०८१ साल असोज १२ गतेको बाढीले बगाएको थियो। त्यसपछि निर्माण गरिएको अस्थायी डाइभर्सन पनि असोज १८ गतेको बाढीले बगाएपछि यात्रुहरू समस्यामा परेका थिए। यात्रुहरूको सहजताका लागि सेनासँग फड्के निर्माण गर्न आग्रह गरिएको फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले बताउनुभयो।
बाढीले क्षति पुर्याएको बाटो र डाइभर्सन पुनर्निर्माण गर्न केही दिन लाग्ने जानकारी पूर्वाधार विकास कार्यालय पाँचथरका सूचना अधिकारी मुकेशराज साहले दिनुभयो।
फड्के निर्माण भएपछि सवारीसाधन चल्न नसके पनि पैदल यात्रुहरूलाई आवागमनमा सहजता भएको छ। “फड्के बनेपछि खोलो तरेर गन्तव्यतर्फ जान सजिलो भएको छ,” फालेलुङ–७ बाट फिदिमतर्फ आउँदै गरेका भिम मगरले बताए।
फड्के निर्माण कार्यमा नेपाली सेनासँगै स्थानीयवासी र जनप्रतिनिधिहरूले समेत सहयोग गरेका थिए। स्थानीयको सहकार्यमा छोटो समयमै काठको पुल निर्माण गरिएको बीरदल गणका प्रमुख अधिकारीले बताए।





