
काठमामाडौं । गृहमन्त्री रमेश लेखकले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा भइरहेको आन्दोलनको विषयमा सम्बन्धित चार जिल्लाका सांसदसँग छलफल गर्नुभएको छ ।
मंगलवार साँझ गृहमन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधिहसँग छलफल गर्नुभएको हो । शनिवार केबलकार निर्माणको विरोधमा उत्रिएका पहिचान पक्षधरहरूको समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो । सो क्रममा केही प्रदर्शनकारीलाई गोली लागेको थियो । थप तनावको अवस्था सिर्जना हुन नदिन गृहमन्त्रीले जिल्लाका सांसदहरुसँग छलफल शुरु गर्नुभएको हो ।
छलफलबारे सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमाले सचिव योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा मन्दिरमा सबैलाई सहज होस् भनेर केबलकार निर्माण गर्ने योजना अघि बढेको भए पनि केही व्यक्ति र समूहले धर्म संस्कृति मासिने भन्दै केही वर्षदेखि नै बिरोध भइरहेको बताउनु भयो ।

सांसद भट्टराईले भन्नुभयो, ‘‘केबुलकार बनाउने क्रमसँगै माघ १२ गते दोहोरो हातपात हुँदा सुरक्षाकर्मीहरुले बल प्रयोग गरेको र केही घाइते भएका छन् । परिस्थितिलाई सामान्यीकरण गर्ने, भड्किन नदिने र वार्ताबाट समाधान खोज्नेबारेमा छलफल भएको छ । विकास निर्माणको कामलाई पनि अघि बढाएर भएका समस्यालाई समाधान गर्ने हो । विरोधीहरुसँग पनि संवाद गर्ने निष्कर्ष निस्किएको छ । घाइते भएकाहरुको सरकारले स्वास्थ्योपचार गर्ने मागमा गृहमन्त्री रमेश लेखकले सरकारले स्वास्थ्योपचार गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।’’
उहाँले सम्बन्धित मन्त्रालयसँग पनि छलफल गरेर अघि बढ्ने सहमति भएको बताउनु भयो । – गोरखापत्रबाट