
फिदिम,पाँचथर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वैशाख २५ गते पाँचथरको फिदिम बजार आउने भएका छन्।
पार्टीको वैशाख ६ गते फिदिममा सम्पन्न ११औं जिल्ला समन्वय समिति पूर्ण बैठकमार्फत अध्यक्ष प्रचण्डको आउनेबारे जानकारी दिएको हो। उक्त बैठकमा जिल्लाका ७ गाउँपालिका र १ नगरपालिका गरी हालै सम्पन्न पालिका अधिवेशनबाट निर्वाचित भएका ८ पालिका कमिटी अध्यक्षहरूलाई सम्मान गरिएको थियो।
अध्यक्ष प्रचण्डको आगमनको तयारीस्वरूप माओवादी केन्द्रले सबै पालिकादेखि वडा तहसम्म प्रचार–प्रसार गर्ने बताएको छ। साथै, ६ हजारभन्दा बढी जनसहभागिता गरौंले बैठकमा विशेष अतिथिका रूपमा सहभागी पार्टीका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बो ‘मौसम’ र कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ले निर्देशन दिएका छन्।

जिल्ला इन्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य सीता थेवे ‘प्रमिला’का अनुसार प्रचण्ड फिदिममा आयोजित जनसभालाई सम्बोधन गर्नेछन्। सोही दिन जिल्लाभरिबाट ३ सयभन्दा बढी व्यक्तिहरू पार्टीमा प्रवेश गर्ने कार्यक्रम समेत रहेको उनले जानकारी दिइन्। हाल माओवादी केन्द्र सरकारको प्रतिपक्षमा रही जनताको समस्या सरकारसमक्ष उठाउँदै जनताको पार्टीको रूपमा स्थापित भइरहेको पनि प्रमिलाले बताइन्।