मिक्सो उपनाममा चिनिने हर्कबहादुर नेम्बाङ नेकपा माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हुन । पाँचथरको लुङरुपामा जन्मिएका उनी २०५२ सालदेखि राजनीतिमा प्रवेश गरे । पाँचथरकै नाङ्गिनबाट एसएलसी उत्तीर्ण गरेपछि इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययन गरेका मिक्सोले कक्षा ९ मा पढ्दा नै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका थिए । मिक्सो २०५७ मा माओवादी पार्टी प्रवेश गर्दै माओवादीको ‘जनमुक्ति सेना’मा खटिए । ०५९ मा ओखलढुंगाको रुम्जाटार आक्रमणका क्रममा घाइते भएर १ वर्ष उपचारमा रहेका उनी २०६० सालपछि पाँचथर माओवादी केन्द्रको सचिव, इन्चार्ज र हाल प्रदेश अध्यक्षको जिम्मेवारीमा पुगेका हुन् ।
कोशी प्रदेशमा माओवादी केन्द्रको संगठन कस्तो छ ?
कोशी प्रदेशमा रहेका १४ जिल्लामा पार्टीका १ लाख सदस्य रहेका छन् । समग्रमा पार्टी संगठन सन्तोषजनक नै छ । विगतभन्दा अहिले पार्टी, जनसंगठन र मोर्चा राम्रो छ । विगतको तुलनामा राम्रो जनमत सिर्जना गरेका छौँ ।
प्रदेशमा पार्टीलाई थप सशक्त बनाउने के गर्दै हुनुहुन्छ त ?
कोशी प्रदेशमा हाम्रो प्रतिस्पर्धा नेकपा एमाले र नेपाली काङ्ग्रेससितै हो । उनीहरूलाई क्रस गर्नैपर्छ । माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउनु नै छ । अनि, चुनौति पनि छन् । विगतमा कोशी प्रदेशको भूगोलमा अधिकांश क्षेत्रमा चुनाव जितेकै हो । चुनौतिको सामना गर्दै जनताको निरन्तर सेवा गर्ने र जनतामा माओवादी केन्द्रले स्थापित गरेका कुरा पुर्याउने हो ।
संगठन विस्तारका लागि के गर्ने ?
जनतालाई कन्भिन्स गर्ने, संगठन विस्तारलाई अझ घनिभूत बनाउने, सामाजिक, उत्पीडित, लैङ्गिक समस्यामा परेका परिवारलाई सहयोग गर्ने कार्य भइरहेका छन् ।
भावी योजना के हुन् ?
अब यो देशमा समाजवाद हासिल गर्न केन्द्रीत गर्नका लागि सामन्तवादका अवशेषहरूलाई पूर्णरुपमा अन्त्य नगरेसम्म त्यो प्राप्त गर्न सकिन्न । जनताका आधारभूत मुद्धामा जनमत सिर्जना गर्ने अभियानमार्फत अगाडि बढ्न खोजिरहेका छौँ ।
हालको केपी ओली नेतृत्वको सरकारको आयु कम छ भनिन्छ, त्यस्तो हो ?
अहिलेको केपी ओली नेतृत्वको सरकार २०८४ सम्मनै टिकोस् भन्ने हाम्रो सुभेच्छा छ । र, अहिले हाम्रो तर्फबाट बिकल्प पनि खोजिएको छैन । तर, यो सरकारको जग नै बलियो छैन, प्रचण्ड नेतृत्वको सरकारले चलाएको भ्रष्टाचार विरुद्धको अभियान आफ्नो ढोकामा पुग्ने भएपछि त्यसलाई छल्न र जोगिन रातारात असंवैधानिक ढंगले दलाल, माफिया र भ्रष्टाचारीको हित र रक्षामै बनिएको यो गठबन्धन हो । त्यस कारण सरकार बनेदेखि नै आम जनसमुदायको चर्को बिरोधमा परेको सर्वविधितै छ । त्यसैले यो सरकार कसैले फाल्ने भन्दा पनि जनताले नै आँफै फाल्ने छन् । जनताको मुख्य निशानामा परेको वर्तमान सरकारको आयु लामो चाहिँ देखिँदैन ।
हालै सम्मपन्न उप–निर्वाचनको परिणामले माओवादी हौसिएको हो ?
भरखरै सम्पन्न भएको उपविर्नानमा कसले कति ल्यायो भन्दा पनि माओवादी केन्द्रले उठाएको सु–शासन, सामाजिक न्याय र भ्रष्टाचार नियनत्रणको अभियानलाई अनुमोदन ग¥्यो । यो नतीजा अपेक्षित नै हो । कोशी प्रदेशको सन्दर्भमा त मैले पटकपटक एमाले काङ्ग्रेससँग प्रतिस्पर्धा गर्न तयार छौं भनिरहकै थिएँ । त्यो प्रमाणित पनि भयो । उप–निर्वाचनमा हामी पहिलो भयाै भनेर हौसिएका छैनौं । तर, मनोवल भने उच्च भएको छ । यसको जगमा टेकेर आगामी निर्वाचन ०८४ मा यो देशको पहिलो पार्टी बनाउने अभियानमा लागेका छौं । हाम्रो जिम्मेवारी थपिएको महसुस भएको छ ।

Nepalitheme

त्यसको निम्ति पहिला पार्टी संगठन र पार्टी संरचनालाई चुस्त बनाउने, नेत्तृत्वहरुको सही मूल्याङ्कन गर्ने, हाम्रा दृष्टिकोणहरु, वैचारिक र राजनैतिक विषयहरु र जनताका एजेण्डाहरु दृढतापूर्वक सडक संघर्ष र सदनबाट स्थापित गर्नेनै छौं । वर्तमान सरकारले गर्ने जनविरोधी कृयाकलापको दृढतापूर्वक विरोध र भण्डाफोर गर्छौं । जनता सडकमा आउनेवाला छन् । त्यसको नेतृत्व हामीले नै गर्नेछौं यहीँबाट ०८४ को चुनावी तयारी हुन्छ । माओवादीमात्र देशलाई सही नेतृत्व दिने पार्टी हो भन्ने कुरा पुष्टि भएको छ । त्यस कारण माआवादीलाई समर्थन गर्न र सहयोग गर्न आम जन समुदायमा अपिल पनि गर्दछु ।

कल्पवृक्षबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय