फालेलुङ ।
पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा ९औँ चौरी पर्यटन महोत्सव २०८३ आयोजना हुने भएको छ। नेपाली नयाँ वर्षलाई लक्षित गर्दै चैत ३० गतेदेखि वैशाख १ र २ गतेसम्म तीन दिन महोत्सव सञ्चालन गरिने भएको हो।
२०७४ सालदेखि प्रत्येक वर्ष वैशाख १ गते आयोजना हुँदै आएको यो महोत्सव दक्षिण एसियाकै पहिलो चौरी पर्यटन महोत्सवका रूपमा परिचित छ। फालेलुङमा सुरु गरिएको यो महोत्सवले हाल अन्तर्राष्ट्रिय स्तरमै आफ्नो पहिचान बनाइसकेको छ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिकाको पहलमा महोत्सवको सुरुवात गरिएको हो। समुद्री सतहबाट करिब ३,४५० मिटर उचाइमा अवस्थित यो क्षेत्र पर्यटकका लागि अत्यन्तै सुन्दर र रमणीय गन्तव्य मानिन्छ। महोत्सव स्थलबाट हिमाली चौँरी गाई, विश्वकै दुर्लभ वन्यजन्तु हाप्रे (रेड पाण्डा), विभिन्न जंगली जनावर तथा चीन, भुटान र सिक्किमका हिमशृङ्खलाहरू अवलोकन गर्न सकिन्छ।
छिमेकी राष्ट्र भारतसँग सिमाना जोडिएको यस क्षेत्रमा फालेलुङ गाउँपालिका मुख्य प्रवर्द्धक रहेको छ भने कञ्चनजंघा याक चिज उत्पादक समूह, फालेलुङ–४ मुख्य आयोजक रहेको आयोजक संस्थाका सचिव बलबहादुर तामाङले जानकारी दिनुभयो।
महोत्सवमा याक डान्स, साहसिक पुरुष फुटबल प्रतियोगिता, याक चढ्ने, घोडा चढ्ने, भेडाको ऊनबाट बनेका सामग्रीहरूको प्रदर्शनी तथा चौरीको दूधबाट बनेका परिकारहरूको बिक्री तथा प्रदर्शनी गरिनेछ।
यसपटकको साहसिक फुटबल प्रतियोगितामा प्रथम हुने टोलीलाई एक मन घ्यू तथा द्वितीय हुने टोलीलाई आधा मन घ्यूका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
महोत्सव सफल बनाउन पदमार्गमा आधारित पर्यटन विकास परियोजना विराटनगर, पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश, नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौं, कोशी प्रदेश पर्यटन वर्ष २०८२ सचिवालय, कञ्चनजंघा चौरी पालक तथा विकास संस्था पाँचथर, दीप ज्योति युवा क्लब पाँचथर तथा फालेलुङ पर्यापर्यटन प्रवर्द्धन संस्था पाँचथरले सहयोग गर्ने जनाइएको छ।









