पाँचथर । नेपाल पत्रकार महासंघ को ७१ औँ स्थापना दिवसको अवसरमा महासंघको पाँचथर शाखाले सोमबार समाचार वाचन प्रतियोगिता आयोजना गरेको छ।
फिदिम–१ स्थित फाल्गुनन्द चोकमा रहेको शाखाको सभाहलमा सम्पन्न प्रतियोगितामा इवारा जबेगुले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गरिन्। यस्तै, कमल घिमिरे द्वितीय र भीम चेम्जोङ तृतीय बने। विजेताहरूले क्रमशः सात हजार, पाँच हजार र तीन हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रतियोगितामा सहभागी अन्य विद्यार्थीहरूमध्ये फिदिम माध्यमिक विद्यालय मा अध्ययनरत कक्षा–७ की साम्भावी श्रेष्ठ, कक्षा–९ की सुविज्ञा राई र पूजा तुम्बापोले सान्त्वना स्थान हासिल गरे। उनीहरूलाई जनही एक हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा कुल २२ जना प्रतिस्पर्धी सहभागी भएका थिए। प्रतियोगिताको मूल्याङ्कन पत्रकार मंगल बेघा, खबिन लुईटेल र सन्देश सुब्बाले गरेका थिए।
उक्त अवसरमा प्रमुख अतिथिका रूपमा बाबुराम भट्टराई, प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, महासंघका केन्द्रीय सदस्य लवदेव ढुंगाना, फोनिज प्रदेश अध्यक्ष विजयबोध लाओती तथा पूर्व अध्यक्षहरू लक्ष्मी गौतम र गिरिराज बाँस्कोटालगायतले शुभकामना व्यक्त गरेका थिए।
समाचार लेखन तथा वाचनप्रति युवापुस्ताको रुचि अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको महासंघ पाँचथरका उपाध्यक्ष सरोज शर्माले जानकारी दिए। शाखा अध्यक्ष भीमकुमार बाँस्कोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रविन्द्र काफ्लेले गरेका थिए।







