पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिकामा यस वर्ष धान उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८२/०८३ मा पालिकाभित्रका ५८ जना किसानले कुल ३ हजार ६८४ मुरी ४ पाथी धान उत्पादन गर्दै नयाँ कीर्तिमान कायम गरेका छन्। उत्पादनमा आएको वृद्धिसँगै गाउँपालिकाले उत्कृष्ट कृषकलाई नगदसहित सम्मान गर्दै कृषिप्रति आकर्षण बढाउने प्रयासलाई थप सुदृढ बनाएको छ।

Nepalitheme
Pasupati Ayurvedic

शुक्रबार आयोजित एक कार्यक्रममा गाउँपालिकाले ५८ जना किसानलाई कुल १८ लाख रुपैयाँ नगद पुरस्कार वितरण गरेको छ। एक सय मुरीभन्दा बढी धान उत्पादन गर्ने ३ जना किसानलाई जनही ५० हजार रुपैयाँका दरले र ५० मुरीभन्दा बढी उत्पादन गर्ने ५५ जना किसानलाई जनही ३० हजार रुपैयाँका दरले पुरस्कृत गरिएको हो।

कृषि पेशालाई सम्मानित र व्यवसायिक बनाउने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० देखि “किसान सम्मान कार्यक्रम” सुरु गरेको हो। उक्त कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरी निरन्तरता दिइँदै आएको छ। प्रारम्भिक वर्षमा २९ जना किसानले १ हजार ७३० मुरी धान उत्पादन गरेका थिए भने त्यसपछिको आर्थिक वर्ष २०८१/०८२ मा ४२ जना किसानले २ हजार ६७८ मुरी १५ पाथी उत्पादन गरेका थिए। चालु वर्षमा किसानको संख्या ५८ पुगेको छ भने उत्पादन पनि उल्लेखनीय रूपमा बढेको छ।

ऊनको स्वीटर टेजर

नेपाल कृषि प्रधान देश भए पनि वास्तविक किसानसम्म सरकारी सुविधा नपुग्ने, उत्पादन घट्दै जाने र खाद्यान्न आयातमा निर्भरता बढ्दै जाने समस्या देशव्यापी रूपमा देखिँदै आएको छ। तर, फाल्गुनन्द गाउँपालिकाले स्थानीय स्तरमै खाद्यान्न उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्ने लक्ष्यसहित योजनाबद्ध कार्यक्रम अघि बढाएको छ। यस वर्ष बाढीपहिरोजस्ता प्राकृतिक विपद्का चुनौतीका बाबजुद उत्पादनमा वृद्धि हुनु किसानको मेहनत र पालिकाको नीतिगत पहलको परिणाम भएको गाउँपालिकाले जनाएको छ। गत वर्षको तुलनामा किसानमा उत्साह बढेको र खेतीप्रति आकर्षण पनि उल्लेखनीय रूपमा वृद्धि भएको देखिएको छ।

गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बेका अनुसार किसान सम्मान कार्यक्रमले कृषिलाई व्यवसायीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको छ। उनले भने, “किसानलाई सम्मान र प्रोत्साहन गर्दा उत्पादन स्वतः बढ्छ भन्ने हाम्रो विश्वास हो। यसले गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने दिशामा अघि बढाएको छ।” धान उत्पादनमा उत्कृष्ट कृषक छनोट गर्न गाउँपालिकाले ‘धान उत्पादनमा उत्कृष्ट कृषक पुरस्कार कार्यविधि २०८०’ लागू गरेको छ। किसानले पेश गरेको उत्पादन विवरणलाई पालिकाको प्राविधिक टोलीले खेतमै पुगेर मापन तथा प्रमाणीकरण गर्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले जानकारी दिए।

यस वर्ष वडा नम्बर ७ का युवा किसान दिप्सन चेम्जोङले २२९ मुरी १६ पाथी धान उत्पादन गर्दै प्रथम स्थान हासिल गरेका छन्। वडा नम्बर १ का मकरबहादुर तामाङ १५८ मुरी ७ पाथीसहित दोस्रो स्थानमा रहेका छन् भने वडा नम्बर ७ कै तिलबहादुर चेम्जोङ १३२ मुरी १६ पाथीसहित तेस्रो स्थानमा रहेका छन्। पहिलो वर्ष २९ जना, दोस्रो वर्ष ४२ जना हुँदै यस वर्ष ५८ जना किसान पुरस्कृत हुनु निरन्तर सुधारको संकेतका रूपमा लिइएको छ।

वडागत विवरणअनुसार वडा नम्बर १ बाट ११ जना, वडा नम्बर २ बाट ६ जना, वडा नम्बर ४ बाट ७ जना, वडा नम्बर ५ बाट १५ जना, वडा नम्बर ६ बाट ५ जना र वडा नम्बर ७ बाट १४ जना किसान पुरस्कृत भएका छन्। वडा नम्बर ३ बाहेक अन्य सबै वडाबाट उत्कृष्ट कृषक छनोट भएका छन्।

सम्मान कार्यक्रम गाउँपालिका केन्द्र घुर्बिसे पञ्चमीमा भव्य रूपमा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष आङ्देम्बे, उपाध्यक्ष ठाकुरसिं नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत तुम्बापो, कृषि शाखा प्रमुख सुगम घिमिरे, विभिन्न वडाका वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो। पुरस्कृत किसानलाई नगद, प्रमाणपत्र तथा सम्मानपत्र प्रदान गरिएको थियो।

गाउँपालिकाले ‘एक वडा एक उत्पादन’ नीति अन्तर्गत मकै, किवी, आलु, अकबरे खुर्सानी, कोदो, कफी र सुन्तलाजस्ता बालीलाई प्राथमिकतामा राख्दै कृषिको विविधीकरणमा जोड दिएको छ। साथै, किसानलाई विभिन्न अनुदान कार्यक्रममार्फत सहयोग गर्दै आएको र निकट भविष्यमै बाली बीमा कार्यक्रम सुरु गर्ने तयारी भइरहेको उपाध्यक्ष नेम्बाङले जानकारी दिए।

गाउँपालिकाले कृषि र पर्यटनलाई सँगसँगै अघि बढाउने लक्ष्य लिएको छ। कृषि उत्पादन वृद्धि गर्दै कृषि पर्यटनको सम्भावना विस्तार गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष आङ्देम्बेको भनाइ छ। कार्यक्रमकै अवसरमा फाल्गुनन्द प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूलाई नियुक्तिपत्रसहित सम्मान गरिएको थियो।

उक्त कार्यक्रम आर्थिक विकास समिति संयोजक तथा वडा नम्बर ४ का अध्यक्ष दलबहादुर नेम्बाङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन पशुपक्षी शाखाका कर्मचारी गोपाल घिमिरेले गरेका थिए भने कार्यक्रमको उद्देश्यसहित स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले राखेका थिए। किसानलाई सम्मान गर्दै उत्पादन बढाउने फाल्गुनन्द गाउँपालिकाको यो पहल अहिले अन्य स्थानीय तहका लागि पनि उदाहरणीय बन्दै गएको छ।

प्रतिक्रिया

Pasupati Ayurvedic

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय