
पाँचथर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले फिदिममा आयोजना गर्न लागेको विशाल जनसभालाई सम्बोधन गर्न पार्टीका केन्द्रिय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो १२:३० बजे फिदिम आइपुग्ने भएका छन्।
जनसभा प्रचारप्रसार संयोजक तथा पार्टीका प्रदेश सदस्य एवं जिल्ला सह-इन्चार्ज दिनेश लावतीका अनुसार अध्यक्ष दाहाल बिहान ११ बजे काठमाडौंबाट नेपाल आर्मीको हेलिकप्टरमार्फत फिदिमतर्फ प्रस्थान गर्नेछन्। डेढ घण्टाको हवाई यात्रापछि नेपाल आर्मी क्याम्प साम्देनमा हेलिकप्टर अवतरण गर्ने र त्यहाँबाट केहीबेर मनस्वी होटलमा विश्राम गरेपछि सभा स्थल प्रवेश गर्ने कार्यक्रम रहेको छ।

सभा प्रारम्भ हुने समय दिउँसो १ बजे तोकिएको छ। कार्यक्रममा विभिन्न जातजातिको सांस्कृतिक नृत्य, झाँक्री नृत्य र जनसंस्कृति परिवारको विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।
कार्यक्रममा सहभागीहरूका लागि तीन स्थानबाट ठूलो र्याली निकालिने छ। आलागैरीबाट कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ को नेतृत्वमा, सनिवारेबाट केन्द्रिय सदस्य तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बो ‘मौसम’ को नेतृत्वमा, र बरडाँडा हुलाक लाइनबाट केन्द्रिय लेखा सदस्य नरबहादुर दुलाल ‘नेट्वोर्क’ को नेतृत्वमा र्याली निकालिने छ। ती सबै र्याली गणतन्त्र चोकमा जम्मा भई मुख्य कार्यक्रमस्थल फिदिम माविको खेलमैदानमा प्रवेश गर्नेछन्।