
फालेलुङ, पाँचथर।
पाँचथरको फालेलुङ गाउँपालिकाको प्रशासकीय भवन तथा र पाँच शैय्याको आधारभूत स्वास्थ्य अस्पतालको शनिबार उद्घाटन गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शनिबार उक्त संरचनाको उद्घाटन गर्दै गाउँ तहसम्म स्वास्थ्य सेवा सुदृढ गर्न तीनै तहका सरकारबीच साझेदारी आवश्यक रहेको बताएका छन्।
फालेलुङ गाउँपालिका-३, नाम्लुवामा निर्माण सम्पन्न पाँच शैय्याको अस्पताल उद्घाटनपछिको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्थाको संख्या वृद्धि भए पनि चिकित्सक तथा स्वास्थ्यकर्मीको स्थायित्व नहुँदा सेवा प्रभावकारी बन्न नसकेको उल्लेख गरे। उनले स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्य आवश्यक रहेको औंल्याउँदै स्वास्थ्य संस्थालाई बलियो बनाउने पहल गर्नुपर्ने बताए।
“स्वास्थ्य सेवा गाउँगाउँमा पुर्याउन अस्पताल मात्रै बनाउने होइन, सेवा दिन आवश्यक जनशक्ति पनि व्यवस्थापन गर्नुपर्छ,” मन्त्री पौडेलले भने, “संघीय सरकारले डाक्टर तथा उपकरण उपलब्ध गराउँछ, तर अस्पताल सञ्चालन गर्न नर्स र अन्य स्वास्थ्यकर्मी अनिवार्य हुन्छन्। त्यसको व्यवस्थापन स्थानीय तथा प्रदेश सरकारले गर्नुपर्छ।”
उनले ग्रामीण क्षेत्रका नागरिक सामान्य उपचारका लागि समेत बसाइँ सर्नुपर्ने बाध्यता अन्त्य गर्न स्वास्थ्य संस्थाको दिगो सञ्चालनमा ध्यान दिनुपर्ने उल्लेख गरे।
२०७८ सालदेखि निर्माण सुरु गरिएको पाँच शैय्याको अस्पताल हालै सम्पन्न भएको हो। संघीय र स्थानीय सरकारको संयुक्त लगानीमा निर्मित अस्पतालको लागत १२ करोड २ लाख ३ हजार १ सय १४ रुपैयाँ रहेको छ।
यसै अवसरमा मन्त्री पौडेलले पूर्वाधार निर्माण मात्र होइन, त्यसको दिगो सञ्चालनका लागि योजना आवश्यक रहेको बताए। “पालिका र वडा तहमा पूर्वाधार निर्माण हुनु राम्रो हो, तर स्थानीय आवश्यकताअनुसार बनाइनुपर्छ। अब हाम्रो ध्यान रैथाने उत्पादन प्रवर्द्धन गर्ने दिशामा हुनुपर्छ,” उनले थपे।
स्वास्थ्य सेवा सुदृढीकरणका लागि सबै तहका सरकारको सहकार्य आवश्यक रहेको मन्त्री पौडेलको भनाइ छ।