
विराटनगर । कोशी प्रदेश नेकपा माओवादी संसदीय दलले ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा भएको आन्दोलनको सम्बोधन नभए आफ्नो पार्टी पनि सहभागी हुने चेतावनी दिएको छ ।
माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले दमनको बाटो छोडेर वार्ता र छलफलतिर ध्यान नदिए आफ्नो पार्टी पनि आन्दोलनमा सहभागी हुनसक्ने चेतावनी दिए । ‘केबलकार निर्माणको काम रोकेर सरकारले उच्चस्तरीय वार्ता टोली बनाएर सहमति गरेर मात्रै अगाडि बढ्नु पर्छ । त्यहाँ कर्फ्यु लगाएर स्थानीय समुदायमाथि गरेको दमन हाम्रो दलको निम्ति सैह्य हुँदैन,’ आङ्बोले भने, ‘आफ्नो दलले आन्दोलनलाई नैतिक समर्थन मात्रै गरिरहेको तर, सरकार यसरी नै अगाडि बढे आन्दोलनमा सहभागी हुन्छ ।’
उनले निजी क्षेत्रको एक जना व्यापारीलाई केबलकार बनाउन दिनकै लागि राज्यले जनतामाथि दमन गरेको भन्दै निन्दा र भर्त्सना पनि गरे । ताप्लेजुङमा भिडन्त भइरहेको र जनताहरू त्रासमा रहेको तर, प्रधानमन्त्री जन्मदिन मनाउँदै बसिरहेको भन्दै उनले भने, ‘रोम जलिरहेको छ । निरो बाँसुरी बजाएर बसिरहेको छ । ताप्लेजुङ यति धेरै अशान्त छ । तर, सरकारले यहाँ केही भइरहेको छैन भनेजस्तो गरेको छ । यो घोर आपत्तिजनक छ ।’
उनले नागरिकले हुँदैन चाहिँदैन भनेको कुरालाई ‘राज्यले किन जबरजस्ती गरिरहेको’ भन्ने प्रश्न गरे । उनले हिन्दु र किराँत धर्माबलम्वीहरुको कुरा सुनेर छलफल गर्नुको साटो एकोहोरो अगाडि बढ्न खोजेको बताए ।