पाँचथर।

Nepalitheme

मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा निर्माण भइरहेको केवलकार परियोजना तत्काल रोक्नुपर्ने माग उठ्दै आएको छ। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेश संसदीय दलका नेता तथा पूर्वमन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ले आइतबार बेलुका सामाजिक सञ्जालमार्फत धार्मिक क्षेत्रको पवित्रता जोगाउन तत्काल निर्माण कार्य रोक्नुपर्ने आफ्नो फेसबुकमा स्टाटस राखेका छन्।

आङ्बोले मुक्कुमलुङ (पाथीभरा) क्षेत्रबाट सशस्त्र फौज हटाउने, शान्तिपूर्ण वातावरणमा वार्ता तथा संवादद्वारा समस्याको समाधान खोज्ने माग गरेका छन्। “स्थानीय समुदायको असन्तुष्टि र असहमति बल प्रयोग तथा दमनबाट पटक्कै समाधान हुँदैन,” भन्दै उनले सरकारलाई आफ्ना नागरिकप्रति जिम्मेवार बन्न आग्रह गरेका छन्।

यसअघि, यही विवादकै क्रममा भएको आन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर ५ जना घाइते भएका थिए। केवलकार निर्माणको विरोधमा विभिन्न चरणमा विरोध प्रदर्शन हुँदै आएको छ भने हाल पूर्वी नेपालका ९ जिल्लामा आमहड्ताल (बन्द) जारी छ। आन्दोलनरत पक्षले केवलकार परियोजना स्थगित नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

सरकार र निजी क्षेत्रले केवलकारलाई धार्मिक पर्यटन प्रवर्द्धनको आधारका रूपमा अघि सारे पनि स्थानीय समुदाय र धार्मिक संघसंस्थाहरूले यसले क्षेत्रको पवित्रता, संस्कृति, र वातावरणमा गम्भीर असर पार्ने बताएका छन्। आङ्बोले सरकारलाई स्थानीयको भावना बुझ्न आग्रह गर्दै कुनै पनि समस्या संवाद र सहमतिबाट समाधान गर्नुपर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय