
फिदिम, पाँचथर।
केबलकार खारेजीको माग राख्दै आन्दोलनरत पूर्वका विभिन्न राजनीतिक दल तथा सामाजिक संघ–संस्थाले माघ २० र २१ गते अरुणपूर्वका नौ जिल्ला लिम्बुवान बन्द आह्वान गरेका छन्।
“मुन्धुमी स्थल मुक्कुमलुङ संरक्षण गर्न केबलकार खारेज गरौं, गोली हान्ने तथा मानव अधिकार उल्लंघन गर्ने सरकारी रवैयाको विरोध गरौं” भन्ने नारा सहित आइतवार र सोमवार यातायात बन्द गरिने भएको छ।
आफ्ना मागहरू सम्बोधन नभए माघ २२ देखि आमहड्ताल सुरू गर्ने चेतावनी दिँदै आन्दोलनरत पक्षले सर्वसाधारणलाई मुक्कुमलुङ केबलकारविरुद्धको आन्दोलनमा सहभागी हुन अपिल गरेका छन्।
सशस्त्र प्रहरीको गोली प्रहारपछि आन्दोलन चर्किंदै
गत माघ १२ गते साँझ ताप्लेजुङको फुङलिङ नगरपालिका–११ स्थित बलुडाँडामा मुक्कुमलुङ संस्कृतिकर्मीहरूमाथि सशस्त्र र जनपथ प्रहरीले दमन गर्दै गोली प्रहार गरेको थियो। त्यस घटनापछि माघ १५ देखि मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ जाने मुख्य नाका अवरुद्ध छन्।
आन्दोलन थप सशक्त बनाउन माघ २० र २१ गते लिम्बुवान बन्दको घोषणा गरिएको छ। यदि माग सम्बोधन नभए अनिश्चितकालीन आमहड्ताललगायत देशभर आन्दोलन चर्काउने चेतावनी आन्दोलनरत पक्षले दिएका छन्।
घाइतेको अवस्था
आन्दोलनका क्रममा सशस्त्र प्रहरीको गोलीबाट यामबहादुर लिम्बु, सगुन लावती र धर्मान पालुङ्वा गम्भीर घाइते भई उपचाररत छन्। अन्य घाइतेहरू धोजनारायण साँवा र विर्ख लिम्बुको पनि उपचार भइरहेको छ। मंगल लावती र विशाल लिम्बु उपचारपछि डिस्चार्ज भएका छन्।
यसैगरी, लक्ष्मण लिम्बु, चन्द्र सागर लिम्बु र प्रदीप मादेनलाई बिना कारण पक्राउ गरी हिरासतमा राखिएको बताइएको छ।
आन्दोलनको माग
मुक्कुमलुङ, सेमुक्तु, मुक्तुबुङ युमा माङयानको आध्यात्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वलाई अक्षुण्ण राख्न केबलकारलगायत कुनै पनि ठूला भौतिक संरचना निर्माण नगर्नुपर्ने माग गर्दै आन्दोलन जारी छ।
प्रभावशाली युवा नेता तथा नेपाल जनमुक्ति पार्टीका केन्द्रीय सचिव एवं संयुक्त पहिचानवादी मोर्चाका संगठन विभाग प्रमुख एल.बी. पालुङ्वाले शान्तिपूर्ण आन्दोलनमा गोली प्रहार गरिनु गम्भीर मानव अधिकार उल्लंघन भएको बताएका छन्। उनले दोषीहरूमाथि निष्पक्ष छानबिन गरी कडा कानुनी कारबाही गर्नुपर्ने माग राखेका छन्।
आन्दोलनरत पक्षको प्रमुख माग
१. गिरफ्तार गरिएका सम्पदा प्रेमीहरूलाई बिना शर्त रिहा गर्नुपर्ने।
2. नाम्जाःगे (काफ्लेपाटी) बाट सशस्त्र र जनपथ प्रहरी फिर्ता गर्नुपर्ने।
3. केबलकार निर्माण कार्य रोक्नुपर्ने र स्काभेटरलगायत अन्य सामग्री फिर्ता लानुपर्ने।
4. घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्ने।
5. घटनाको उच्चस्तरीय न्यायिक छानबिन समिति निर्माण गर्नुपर्ने।
6. दोषीहरूलाई कडा कारबाही गर्नुपर्ने।
7. चन्द्र ढाकालको केबलकार कम्पनीले घाइतेहरूको आजीवन जीविकोपार्जनको व्यवस्था गर्नुपर्ने।
बन्द आह्वान गर्ने संस्थाहरू
बन्द आह्वान गर्ने प्रमुख संघ–संस्थाहरूमा मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, पाथीभरा केवलकार खारेजी संयुक्त संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ, थरगत संस्था (याक्थुङ सयङ) सहजीकरण समूह, किरात धर्म तथा साहित्य उत्थान संघ लगायतका संघ–संस्थाहरू छन्।
यसैगरी, कुमार लिङ्देन ‘मिराक’ (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च), प्रा.डा. महेन्द्र लावती (संयोजक, पहिचानवादी मोर्चा), सञ्जय राई (मुख्य सचिव, जसपा नेपाल, लिम्बूवान राष्ट्रिय समिति), रमेश राई (अध्यक्ष, जसपा सम्बद्ध किरात राष्ट्रिय समिति), धनबहादुर पन्धाक (अध्यक्ष, प्रदेश नं. १, नागरिक उन्मुक्ति पार्टी), भक्त खेवाङ (उपाध्यक्ष, नेपाल जनमुक्ति पार्टी), नयन्द्र चाम्लिङ (अध्यक्ष, प्रदेश नं. १, मंगोल नेसनल अर्गनाइजेसन–डिजिजी) लगायतका नेताहरूले अपिल जारी गरेका छन्।