
फिदिम, पाँचथर ।
फिदिम नगरपालिकाले हालै सम्पन्न कार्यपालिकाको बैठकबाट विभिन्न नागरिकमुखी लोक कल्याणकारी निर्णयहरु गरेको छ। सोमबार नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाले बैठकका निर्णयहरु सार्वजनिक गरेको हो।
नगरपालिका क्षेत्रभित्रका नागरिकलाई अबदेखि किरिया खर्च उपलब्ध गराइनेछ। ‘बिपन्नसँग नगर प्रमुख’ कार्यक्रमअन्तर्गत मृतकका परिवारलाई काजकिरिया खर्च प्रदान गर्ने मापदण्ड २०८१ स्वीकृत गरिएको छ। नगर प्रमुख मित्रप्रसाद काफ्लेका अनुसार स्थायी बसोबास गरेका परिवारका सदस्यको मृत्यु भएमा १० हजार रुपैयाँ किरिया खर्च दिने निर्णय गरिएको छ।

त्यस्तै, ‘कोखदेखि शोकसम्म’ कार्यक्रमअन्तर्गत छुटसहितको एम्बुलेन्स सेवा सञ्चालन गरिनेछ। गर्भवती महिला, ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, र ‘क’ वर्गको अपाङ्गता परिचयपत्र वाहकलाई जिल्ला अस्पतालसम्म लैजाने र घर फर्काउने सेवा निःशुल्क प्रदान गरिनेछ। अन्य नागरिकलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको छ। यो सुविधा लिन सेवाग्राहीले स्वास्थ्य संस्थाको विशेषज्ञ वा स्वास्थ्यकर्मीको सिफारिश पेश गर्नुपर्नेछ।
नगरपालिकाले नगर क्षेत्रभित्र आयोजना गरिने मेला, महोत्सव, सांस्कृतिक तथा खेलकुद प्रतियोगिताहरुका लागि आर्थिक सहयोग गर्ने तर सहयोग स्वीकार गर्दा नगरपालिकालाई स्वतः प्रवर्द्धक वा मुख्य प्रवर्द्धकका रूपमा स्वीकार गर्नुपर्ने निर्णयसमेत गरेको छ। तीन लाख रुपैयाँभन्दा माथिको आर्थिक सहयोग प्रदान गर्दा नगरपालिकालाई अनिवार्य रूपमा मुख्य प्रवर्द्धक मान्नुपर्ने शर्त राखिएको छ।
यी निर्णयहरुले नगरपालिकाका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास नगर प्रमुख काफ्लेले व्यक्त गरे।