पाँचथर।

पाँचथर जिल्लाको फालेलुङ ५ डाँडागाउँमा भएको बम विस्फोटमा घाइते भएका दुई बालकको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने घोषणा गरेको छ। बम विस्फोटका कारण गम्भीर घाइते भएका ७ वर्षीय दिप्सन राई र ११ वर्षीय पवन राईको उपचार हाल कीर्तिपुर अस्पतालको बर्न शाखामा भइरहेको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अस्पतालमा पुगेर बालकहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनीहरूको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने प्रतिबद्धता जनाएका हुन्।

भदौ १३ गते डाँडागाउँका आईतबहादुर केरुङको घरमा भएको बम विस्फोटमा चार जना बालबालिका घाइते भएका थिए। घाइतेमध्ये ११ वर्षीय दिप्सन राई र २ वर्षीय प्रिन्सा साँवाको घटनामा निधन भएको थियो। पवन र दिप्सनलाई सुरुवातमा जिल्ला अस्पताल पाँचथर र विराटनगरको कोशी अञ्चल अस्पतालमा उपचार गरिएपछि आर्थिक अभावका कारण घर फर्काइएको थियो।

मानवअधिकारवादी संस्था सिबिनको पहलमा पुनः दुवै बालकलाई कीर्तिपुर अस्पतालमा भर्ना गरी उपचार गरिएको हो। हाल पवनलाई आईसीयूमा राखेर उपचार भइरहेको छ भने दिप्सनलाई जनरल वार्डमा राखिएको छ। स्वास्थ्य मन्त्री पौडेलले आर्थिक अभावले घाइते बालबालिकाको उपचारमा कुनै अवरोध नहुने आश्वासन दिएका छन्।

श्रोत : जोरपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय