पाँचथर ।
फालेलुङ गाउँपालिका–५, प्राङबुङको डाँडागाउँमा गत साता भएको दर्दनाक बम विस्फोटले दुई निर्दोष बालबालिकाको ज्यान लिएको र दुई जना गम्भीर घाइते बनाएको घटनाले सम्पूर्ण समुदायलाई स्तब्ध बनाएको छ। यस दुखद घटनापछि, राज्यको उदासीनताका कारण पीडित परिवारको लागि राहत र उपचार खर्च जुटाउन स्थानीय अगुवाहरूले रकम संकलन अभियान सुरु गरेका छन्।
११ वर्षीय दिप्सन सावा र २ वर्षीय प्रिन्सा सावाको दुखद निधनले गाउँ नै शोकमा डुबेको छ। घाइते भएका पवन राई र दिप्सन राई अहिले पनि अस्पतालमा जीवनको लडाइँ लडिरहेका छन्। उपचार खर्चको अभावले घाइते बालकहरूको परिवारलाई कठिनाइ भोग्नुपरेको छ। घाइतेलाई स्थानीय सरकारको सहयोगमा कीर्तिपुर वर्न अस्पतालमा भर्ना गरिएको छ। घाइते पवन राई आईसीयूमा उपचाररत छन्।
“घाइते परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर छ,” रकम संकलन अभियानका अगुवा सुनिल वान्तवाले भने “उनीहरूलाई उपचार र अन्य खर्च जुटाउन नसक्ने अवस्थामा रहेको देखेर हामीले यो अभियान थालेका हौं। सबैको सहयोगले पीडित परिवारलाई केही राहत मिल्नेछ भन्ने आशा छ।”
फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन संस्था, श्री दीपज्योति युवा क्लब र फालेलुङ सेवा समाजको अग्रसरतामा देशभित्र र विदेशमा रहेका नेपालीहरूसँग सहयोगको आह्वान गरिएको छ। अभियानमा संलग्न स्थानीय शिल्प राईले सरकारबाट अपेक्षित सहयोग नपाएपछि आफैँ पहल गर्नुपरेको बताए।
यो घटना बालबालिकाहरूले खेल्ने क्रममा ग्रिनेटलाई खेलौना ठानेर हम्बरले हान्दा बम विस्फोट भएको थियो। स्थानीय बासिन्दा र पीडित परिवारले सरकारसँग उचित राहत, क्षतिपूर्ति, र घाइतेहरूको उपचारको माग गरिरहेका छन्। तर, निहत्था बालबालिकाको मृत्यु जस्तो गम्भीर घटनामा पनि राज्य र राजनीतिक नेतृत्वको उदासीनताले पीडितहरूको पीडा अझ गहिरो बनाएको छ।
समुदायको ऐक्यबद्धता र सहयोगको भावना यस अभियानमा स्पष्ट देखिन्छ, जहाँ स्थानीय बासिन्दाहरूले एक अर्काको पीडामा मलमपट्टी लगाउन अघि सरेका छन्। यस अभियानले पीडित परिवारलाई वास्तविक राहत पुर्याउने अपेक्षा गरिएको फालेलुङ सेवा समाजका अभियान कर्ता मंगल केरुङ बताउँछन्।