हिक्मतकुमार कार्की नेतृत्वको कोशी सरकारमा सहभागी नेकपा माओवादी केन्द्र आज सरकारबाट बाहिरिने भएको छ।
केन्द्रमा नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच भएको गठबन्धनपछि प्रतिपक्षमा पुगेको माओवादी केन्द्र कोशी सरकारबाट बहिरिन लागेको हो।
अन्य प्रदेशमा माओवादी प्रतिपक्षमा पुगेपनि कोशीमा मुख्यमन्त्री कार्कीले तत्काल सरकार नछाड्न माओवादीलाई आग्रह गर्दै आएका थिए । तर, केन्द्रिय गठबन्धन अनुसारको सरकार निर्णय गर्नुपर्ने दबाबमा रहेको मुख्यमन्त्रीको सहजताको लागि सरकारबाट बाहिरिन लागेको माओवादीले जनाएको छ।
आज मुख्यमन्त्रीको समय पाएपछि माओवादीका मन्त्रीहरुले राजीनामा बुझाउने तयारी गरेका छन् । राजीनामाको तयारी भएपनि त्यसको औपचारिक जानकारी मन्त्रीहरूले दिएको छैनन् ।
नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आज दलको बैठक बसेर निर्णय गर्ने बताए । उनले भने ‘आज हामीले बैठक राखेका छौ बैठकपछि निर्णय सार्बजनिक गर्छौ’।
कोशी सरकारमा माओवादीबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा गणेश उप्रेती, स्वास्थ्यमा राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बहादुर मगर छन् । यस्तै पर्यटनमा बन्दना झागर राज्यमन्त्री छन् ।
संविधानको धारा १६८ (५) अन्तरगत एमालेका ३९ र माओवादीका १३ जना प्रदेश सदस्यको समर्थनमा हिक्मत कुमार कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएको थियो।