
फालेलुङ, पाँचथर ।
पाँचथरको फालेलुङ–४ लाफे फोक्टेमा प्रथम सुर्यदय गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। बैशाख १५ गतेदेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिता सुर्यदय युवा क्लबको आयोजनामा हुने जनाइएको छ। प्रतियोगिता खुल्ला नकआउट पुरुष तथा महिला दुबै तर्फको फुटबल हुने भएको हो।
बैशाख १५ गते उद्घाटन समारोहसहित कार्यक्रम सुरु हुनेछ। उद्घाटनको अवसरमा कलाकारहरू मिङ्सो केरुङ, दीक्षा खजुम, दिपेश मगर, बिज्ञान जबेगू र युबिन जबेगूको बेजोड सांगीतिक प्रस्तुति रहने आयोजक विशाल सिवाहाङ राईले जानकारी दिएका छन्।
समापन कार्यक्रम बैशाख २० गते हुनेछ। सो दिन पुरुष तथा महिला फुटबल प्रतियोगिताको फाइनल खेलसँगै जनप्रतिनिधि र फालेलुङ गाउँपालिकाका कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल पनि हुने आयोजक सुशील राईले जानकारी दिए। सम्पूर्ण खेल लाफे फोक्टेको खेलमैदानमा सञ्चालन हुने जनाइएको छ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टोलीले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। दोस्रो हुने टोलीले नगद ३० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। महिलातर्फ प्रथम हुने टोलीले नगद १५ हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले नगद १० हजार रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने फुटबल सह–संयोजक अमिर राईले जानकारी दिए।
पहिलोपटक आयोजना हुन लागेको यस प्रतियोगिताका लागि पुरस्कार राशिको रकम विदेशमा रहेका सुर्यदय युवा क्लबका सक्रिय युवाहरूले संकलन गरेका क्लब सदस्य चन्द्र राईले बताए। मेला अवधिभर विभिन्न जातजातिका सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिने आयोजकले जनाएका छन्।