
पाँचथर। पाँचथरको फिदिम नगरपालिका–११, लप्सीबोटेमा एक १५ वर्षीया किशोरीले शौचालयमै मृत शिशु जन्माएकी छन्।
सोमबार बिहान करिब १० बजे आफन्तको घरमा बस्दै आएकी किशोरीले अचानक शौचालयमा ५/६ महिनाको गर्भमा रहेको शिशु मृत अवस्थामा जन्माएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेस तामाङले जानकारी दिएको छ।
फिदिमस्थित एक विद्यालयमा कक्षा ९ मा अध्ययनरत किशोरीले आफन्तको घरमै लुकाइराखेको गर्भ शौचालयमै सुत्केरी भएर झारेको खुलेको हो। सो, घटनाको जानकारी अस्थायी प्रहरी चौकी नागिनलाई दिइएपछि अपराह्न ४:३५ बजे प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक ख्यामराज घिमिरेको कमान्डमा घटनास्थल पुगेको टोलीले शिशुको लाश परीक्षण (लाश जाँच मुचुल्का) र अन्य कानुनी प्रक्रिया पूरा गरेको छ।

बिरामी अवस्थामा रहेकी किशोरीलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल पाँचथरमा भर्ना गरी उपचार सुरु गरिएको छ। मृत शिशुको शव पनि पोष्टमार्टमका लागि सोही अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।
बालिका बसेको घरका एक जना आफन्तलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले किशोरी कसरी गर्भवती भइन् भन्ने विषयमा समेत गम्भीर अनुसन्धान सुरु गरेको जनाएको छ।