
फिदिम ।
विकासवादी नेता तथा पूर्व मन्त्री स्वर्गीय पद्मसुन्दर लावतीको स्मृतिमा स्थापना गरिएको पद्मसुन्दर लावती प्रतिष्ठानको कार्यालय सोमबार फिदिमको गडिमा स्थापना गरिएको छ। प्रतिष्ठान जिल्ला प्रशासन कार्यालय पाँचथरमा २०८० साल पुष २३ गते दर्ता गरिएको हो।
१९९६ साल साउन ७ गते पाँचथरको यासक भदौरेमा जन्मनुभएका पद्मसुन्दर लावतीको २०७१ साल असार २७ गते निधन भएको थियो। उहाँले २०२१ सालमा यासक गाउँ पञ्चायतबाट सक्रिय राजनीतिक जीवनको थालनी गर्नुभएको थियो। त्यसपछि उहाँ स्वास्थ्य, गृह, सामान्य प्रशासन, उद्योग, सञ्चार, भूमि सुधार र कृषि मन्त्रालयको जिम्मेवारी सम्हाल्दै देश र समाजमा महत्वपूर्ण योगदान दिनुभएको थियो।

स्व. लावतीको स्मृतिमा स्थापना गरिएको उक्त प्रतिष्ठान सामाजिक कार्यमा केन्द्रित रहने गरी अगाडि बढ्नेछ। हालसम्म सामाजिक कार्यका लागि सात लाख रुपैयाँको कोष स्थापना भइसकेको छ भने आगामी दिनमा ५० लाख रुपैयाँको कोष बनाउने लक्ष्य रहेको प्रतिष्ठानका सल्लाहकार तथा पूर्व उपरथी होमकुमार लावतीले जानकारी दिनुभयो।
प्रतिष्ठानको कार्यालय उद्घाटन प्रदेशसभा सदस्य तथा पापोहाङ लाओती सयङकी केन्द्रीय सह–अध्यक्ष मैया श्रेष्ठ लावतीले गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै श्रेष्ठले, “स्व. पद्मसुन्दर लावतीले देखाएको मार्ग अहिले पनि पाँचथरको विकास र पहिचानको रोडम्याप बनेको छ,” भन्नुभयो।
कार्यक्रममा पापोहाङ लाओती सयङका केन्द्रीय अध्यक्ष जितबहादुर लावतीले प्रतिष्ठानले सामाजिक क्षेत्रमा प्रभावकारी कार्य गरेर स्व. लावतीको स्मृतिलाई जीवित राख्नुपर्ने बताउनुभयो। सो अवसरमा पापोहाङ लाओती सयङको केन्द्रीय कार्यालयको समेत उद्घाटन गरिएको थियो।
फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुरसिंह नेम्बाङले पद्मसुन्दर लावतीको नेतृत्वमा पाँचथरमा विकासको स्पष्ट खाका तयार भएको उल्लेख गर्नुभयो।
स्व. लावतीको नाममा स्थापना गरिएको प्रतिष्ठानले उहाँका अधुरा सामाजिक तथा विकासका कामहरू पूरा गर्ने उद्देश्य राखेको छ। साथै आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक, खेलकुद, कला तथा साहित्यको माध्यमबाट समाज रूपान्तरणमा योगदान पु¥याउने व्यक्तिहरूलाई सम्मान गर्ने योजना रहेको छ।
पद्मसुन्दर लावतीको शालिक पाँचथरको फिदिम बजार र यासक बजारको बीच भागमा निर्माण गरिएको छ। उहाँको जीवनी र योगदान समेटिएको वृत्तचित्र र ब्रोसुर प्रकाशित गरिएको छ। लावतीको जीवनी पुस्तकको दोस्रो संस्करण १,००० प्रति प्रकाशित भएको छ।
स्व. लावतीको नाममा विभिन्न स्थानहरूमा नगद तथा सामग्री सहयोग अभियान पनि सञ्चालन भइरहेको छ भन्ने जानकारी उहाँका छोरा सगुनसुन्दर लावतीले दिनुभयो।
२०२१ सालदेखि जनप्रतिनिधिका रूपमा राजनीतिमा प्रवेश गर्नुभएका लावती २०५२ सालसम्म पटक–पटक सांसद र मन्त्री रहनुभएको थियो। उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री र सह–अध्यक्ष समेत हुनुहुन्थ्यो।
उहाँले २०३२ सालदेखि चारआली–ताप्लेजुङसम्मको मेचीराजमार्ग जनश्रमदानबाट निर्माणको अभियान चलाउनुभयो। २०३५ सालमा पाँचथर विद्युत् परियोजना निर्माण तथा विस्तार गर्नुभयो। पाँचथर अस्पताल, पाँचथर क्याम्पस, खाद्य संस्थान कार्यालय, सदरमुकाम फिदिमको स्थापना लगायतका क्षेत्रमा लावतीको महत्वपूर्ण योगदान रहेको प्रतिष्ठानका अध्यक्ष विजयबोध लावतीले जानकारी दिनुभयो।
त्यस्तै, २०२५ सालमा राँके–रवि–भेरेटार सडक ट्र्याक खोल्ने, तमोर कोरिडोर सडक सम्भाव्यता अध्ययन, सरकारी कार्यालय स्थापना, स्वास्थ्य चौकी, प्रहरी चौकी, बैंक, सिँचाइ कुलो, खानेपानी योजना, विद्यालय स्थापना र भवन निर्माणमा स्व. लावतीले अतुलनीय योगदान पु¥याउनु भएको थियो।